काठमाण्डौं । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको सहमति जुटेको छ । नेताहरुका अनुसार आजै सहमतिमा हस्ताक्षर हुन सक्ने सम्भावना बढेर गएको छ ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलगगगी र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको वान टु वान वार्तामा पार्टी एकताको सहमति जुटेको हो । दुई नेताबीच पार्टीको नाम, नेतृत्व र बैचारिक राजनीतिक विषयमा सहमति भएको छ ।
पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहनेछ भने ओली र दाहाल दुबै अध्यक्ष रहनेछन् । सहअध्यक्ष वा द्वि–अध्यक्ष के भन्ने पार्टी एकता संयोजन समितिले टुंगो लगाउनेछ । यस्तै दुई नेताबीच आलोपालो प्रधानमन्त्री हुने सहमति जुटेको छ । तर, अवधि भने तोकिएको छैन ।
जनताको बहुदलीय जनवाद, २१ औं सताब्दीको जनवाद, माओवाद लगायतका वैचारिक राजनीतिक विषयलाई बहसमा लैजान दुबै नेता सहमत भएका छन् । दुई नेताबीच भएको सहमतिलाई अन्तिम रुप दिन साँझ ७ बजे पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको छ ।