काठमाण्डाैं । नेकपा एमाले र माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकता तत्कालका लागि टरेको छ ।
एकीकृत पार्टीको निर्देशक सिद्धान्तमा गम्भीर मतभेद देखिएपछि एमाले र माओवादी केन्द्रबीच जारी पार्टी एकता प्रक्रिया तत्काल नहुने भएको हो ।
दुवै दलका शीर्ष नेताबीच एकीकृत पार्टीको नेतृत्व र नयाँ सरकार गठन लगायत धेरै विषयमा सहमति जुटे पनि अन्तिम समयमा एमालेले एकीकृत पार्टीको निर्देशक सिद्धान्त जनताको बहुदलीय जनवाद हुनुपर्ने अडान नछाडेपछि माओवादी केन्द्र एकता प्रक्रियाबाट पछाडि हटेको हो ।
सोही कारण हिजो बसेको पार्टी एकता संयोजन समिति बैठकले सांगठनिक र सैद्धान्तिक विषय व्यवस्थापनका लागि गठन गर्ने भनिएको कार्यदल बनाउन सकेन ।
बैठकमा सहभागी कार्यदल सदस्यका अनुसार शीर्ष नेताको व्यवस्थापन, सरकार नेतृत्वमा आलोपालो लगायतका प्राविधिक विषय मिले पनि सिद्धान्तको विषयमा थप छलफल गर्न आवश्यक देखिएको बताइएको छ ।