काठमाण्डाैं । प्रधानमन्त्री शेर बहादुर देउवाले बिहीवार राजिनामा दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमाबसेको मन्त्रिपरिषद्को बैठकपछि देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले राजिनामाको घोषणा गरेका हुन् ।
सम्बाेधनका क्रममा उनले आफ्नो नेतृत्वको सरकारले प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन सफल गराएको र यसले संविधान कार्यान्वयनका महत्वपूर्ण चरण पार गरेकाे बताएका छन् ।
तेस्रो चरणको स्थानीय तहको चुनाव तथा प्रदेशसभा, प्रतिनिधिसभा तथा राष्ट्रियसभा निर्वाचन शान्तिपूर्ण रुपमा गर्नु आफ्नो उपलब्धि रहेको उनले बताए ।
बुधबार निर्वाचन अायाेगले प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक तर्फ निर्वाचित सदस्याको नामावलीसहित प्रतिनिधिसभा निर्वाचनको पूर्व प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाए संगै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने भएकाले देउवाले राजीनामा दिएका हुन् ।
सम्बोधन लगत्तै देउवा आफ्नो राजीनामा सम्बन्धी पत्र राष्ट्रपतिलाई बुझाउन शीतल निवास गएका छन् ।