विर्तामोड । राजवंशी महिला समाजले एसइइ परीक्षामा सामेल हुने सामुदायिक विद्यालयका विपन्न विद्यार्थीका लागि विशेष कक्षा सञ्चालन गर्न आर्थिक सहयोग गरेको छ।
मंगलबार कोचिला ग्राभुर फ्रन्टको केन्द्रीय कार्यालय विर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा राजवंशी महिला समाजले कोचिला शिक्षक फ्रन्टका अध्यक्ष कुबेरप्रसाद राजवंशी र सचिव लविनचन्द्र सिंह राजवंशीलाई नगद २० हजार हस्तान्तरण गरेको छ।
कार्यक्रममा महिला समाजकी उपाध्यक्ष रत्नाकुमारी राजवंशी तथा अन्य पदाधिकारीहरुले उक्त रकम हस्तान्तरण गरेका हुन्। उक्त रकम विशेष कक्षामा पढाउने गैर कोच शिक्षकहरुलाई सामान्य पारीश्रमिकका लागि खर्च गरिने शिक्षक फ्रन्टका अध्यक्ष कुबेरप्रसाद राजवंशीले बताए। कोच समुदायका शिक्षकले भने निःशूल्क खट्ने उनले जानकारी दिए।
कोचिला शिक्षक फ्रन्टले आगामी एसइइ परीक्षामा सामेल हुने विपन्न कोच आदिवासीलगायत अन्य समुदायका विपन्न विद्यार्थीहरुका लागि झापाका पाँचवटा माध्यमिक विद्यालयमा विशेष कक्षाको व्यवस्था गर्नेछ। कक्षाका लागि मेचीनगर नगरपालिको एउटा मावि, खजुरगाछी मावि गौरीगन्ज, फुलबारी मावि बाह्रदशी, डिल्लीराज मावि झापा र बालकल्याण मावि कुन्जीबारी गौरीगन्ज छनौट गरिएको छ। कक्षा फागुन ६ गतेदेखि सञ्चालन हुने शिक्षक फ्रन्टका सचिव लविनचन्द्र सिंह राजवंशीले बताए।
कक्षामा गणित, अंग्रेजी तथा विज्ञान विषयको पढाई हुनेछ। एउटा केन्द्रमा ५० जना विद्यार्थीलाई पढाइने बताइएको छ।
महिला समाजकी अध्यक्ष नविना राजवंशी हाल इजरेलमा रहेर विपन्न विद्यार्थीका लागि उनले आर्थिक सहयोग गरेको कोचिला ग्राभुर फ्रन्टका अध्यक्ष अभय राजवंशीले बताए। आर्थिक सहयोग गर्नेमा समाजकी सचिव सनम राजवंशी र कोषाध्यक्ष जोसना राजवंशीसमेत रहेका छन्। उनीहरु मार्फत विभिन्न देशहरुमा रहेका कोच समुदायका मानिसहरुले आर्थिक सहयोग गरेको अभय राजवंशीले जानकारी दिए।