काठमाण्डाैं । निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरेको छ ।
निर्वाचन आयोगको आज बसेको पदाधिकारी बैठकले स्विकृत गरेलगत्तै प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरिएको हो ।
संवैधानिक व्यवस्था अनुसार केही ढिला गरी प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरिएको आयोगका सचिव बेगेन्द्रराज शर्मा पौडेलले जानकारी दिनु भयो । एमालेले ४१ सिट हासिल गरेर पहिलो दल बन्न सफल भएको छ ।
त्यसैगरी काँग्रेसले ४०, नेकपा माओवादी केन्द्रले १७, राष्ट्रिय जनता पार्टी, नेपालले ६ र संघीय समाजवादी फोरम, नेपालले ६ सिट प्राप्त गरेको छ ।
आयोगका सचिव पौडेलले निर्वाचनमा ४९ वटा राजनीतिक दलहरुले भाग लिएपनि ५ वटा दल मात्रै राष्ट्रिय पार्टी बन्न सफल भएको जानकारी दिनु भयो । संविधान अनुसार राष्ट्रिय पार्टी बन्न कम्तिमा ३ प्रतिशत मत ल्याउनु पर्ने हुन्छ ।
निर्वाचनमा भाग लिएका ४४ वटा दलले कूल मतको ३ प्रतिशत नकटाएकाले राष्ट्रिय पार्टी बन्न नसकेकोे सचिव पौडेलले बताउनु भयो ।
निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरेलगत्तै राजनीतिक दलहरुलाई उम्मेदवारको अन्तिम नामावली विवरण पेश गर्न पत्राचार पनि गरेको छ ।
सोमबार अपरान्ह ५ बजेभित्र पेश गर्नेगरी उम्मेदवारको अन्तिम नामावली बुझाउन दलहरुलाई आग्रह गरिएको आयोगका सचिव पौडेलले बताउनु भयो ।
मंसीर ३ गते पेश गरेको सूचिमा आधारित रहेर दलहरुले कम्तिमा १ तिहाई महिला प्रतिनिधित्व हुनेगरी उम्मेदवार विवरण निर्वाचन आयोगमा बुझाउनुपर्नेछ । त्यसमा त्रुटि देखिए सच्याउन २ दिनको समय पनि आयोगले दिएको छ ।