कैलाली । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रसँग एकता भएर नयाँ बन्ने पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी नेकपा हुने बताएका छन् ।
आज टीकापुरमा एमाले क्षेत्र नं १ क्षेत्रीय कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गदै उनले पार्टी एकतापछि पछाडि पुच्छर झुण्डिएर रहेको नाम हट्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा मात्र रहने बताए ।
उनले आफूहरु र जनताले पनि एउटै कम्युनिष्ट पार्टी कहिले बन्ला भनेर प्रतीक्षारत रहेको बताए । उनले धेरै पार्टी हुनुभन्दा एउटै पार्टी बनेपछि जनतालाई पनि आफ्ना कुरा राख्न सजिलो हुने धारणा राखे ।
नेता नेपालले दुई पार्टीबीच एकताको प्रयास भइरहेको बन्दै अहिले सैद्धान्तिक र संगठनात्मक कस्तो हुने भन्नेमा छलफल चलिरहेको बताए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले नेताको योग्यता र त्याग, अनुसार नै पार्टी एकतापछि उचित मूल्यांकन भएर जिम्मेवारी दिने बताए ।
उनले कसलाई कुनकुन ठाउँमा राख्ने भन्नेमा पनि छलफल भइरहेको बताए ।
दुई पार्टीबीचको एकतालाई देशी विदेशी शक्ति भाँड्ने प्रयासमा लागेको भन्दै त्यसतर्फ सतर्कता अपनाउनुपर्ने उनको भनाइ रहेको थियो ।
वाम गठबन्धनप्रति जनताको ठूलो आशा र भरोसा भएकाले चाँडै नै एकतासँगै सरकार गठन गरेर त्यो आशा र भरोसालाई पूरा गर्ने उनले बताए ।