काठमाण्डाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राज्यले बालबालिकाको दायित्वलाई आत्मसाथ गरेको अनुभुति दिने निर्णय गर्ने पक्षमा आफु रहेको स्पष्ट पार्नुभएको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडांडामा बालसञ्चार केन्द्र र बालमैत्री नेपालको प्रतिनिधि मण्डलसंग अध्यक्ष दाहालले बालबालिबाको सर्वाङिण विकासका लागि दीर्घकालिन महत्व राख्ने निर्णय गर्ने पक्षमा आफु रहेको बताउनुभएको हो ।
वृद्ध वृद्धाको लागि भत्ता भनेर राज्यले उनीहरुलाई संरक्षण गर्ने पद्धतिको सुरुवात गरिसकेको उल्लेख गर्दै उहाँले बालबालिकाको क्षेत्रमा पनि त्यस्तै दीर्घकालिन महत्वको निर्णय गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
अबका सबै बालबालिकाकाले सरकारको कदमलाई सम्झि राख्ने गरि केन्द्रीत र दीर्घकालिन महत्वको निर्णय गर्ने मनस्थितिमा आफु रहेको भन्दै उहाँले उपयुक्त राय सुझाउन पनि आग्रह गर्नुभयो ।
बालसंञ्चार केन्द्र र बालमैत्री नेपालले बालमैत्री राष्ट्र निर्माणको अभियानलाई स्थानीय, प्रदेश र केन्द्रीय सरकारमा कार्यान्वयन गर्न गराउन माग गर्दै प्रमुख दलका शिर्ष नेतालाई भेटी ध्यानाकर्षण पत्र बुझाउदै आएका छन् । ती संस्थाले राष्ट्रिय बालअधिकार आयोगको गठन गर्न तथा बालबालिका मन्त्रालय यथावत राख्न माग गर्दै आएका छन् ।