काठमाडौँ । प्रजातन्त्र दिवश भव्यरुपमा मनाउन प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा ६८औँ प्रजातन्त्र दिवश मूल समारोह समिति गठन गरिएको छ ।
गृह मन्त्रालयको आयोजनामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार बसेको समितिको बैठकले देशभर र विदेशस्थित नेपाली नियोगमा समेत फागुन ६, ७ र ८ गते भव्यताका साथ प्रजातन्त्र दिवश मनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री अध्यक्ष तथा प्रधानन्यायाधीश, सभामुख, उपप्रधानमन्त्रीहरु, पूर्वप्रधानमन्त्रीहरु, पूर्वप्रधानन्यायाधीश, उपसभामुख, मन्त्रीहरु, पूर्वसभामुख, राज्यमन्त्री, व्यवस्थापिका–संसद्का सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत सदस्य रहेको तथा गृहसचिव सदस्यसचिव रहेको प्रजातन्त्र दिवश मूल आयोजक समिति गठन गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकले सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, काठमाडौँ महानगरपालिकाका प्रमुखको संयोजकत्वमा मञ्च सजावट तथा मञ्च व्यवस्था उपसमिति, काठमाडौँका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मैदान, कवाज, ब्यायाम व्यवस्थापन उपसमिति गठन गर्ने निर्णय गरेको छ ।
फागुन ६ गते काठमाडौँ उपत्यकाभित्रका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाले आफ्नो क्षेत्रका विभिन्न स्थानमा राष्ट्रिय झण्डा एवं ब्यानर सजाई नगरको सरसफाइ तथा सजावट गर्ने र प्रजातन्त्र दिवश भव्यरुपमा मनाउन सञ्चारमाध्यमबाट सार्वजनिक अपिल गर्ने तथा रेडियो नेपालबाट परिसंवाद चलाउने गृह मन्त्रालयको प्रस्तावलाई बैठकले अनुमोदन गरेको छ ।
फागुन ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा बिहान सैनिक मञ्च टुँडिखेलमा मूल समारोहको आयोजना हुनेछ । सोही दिन बिहान सेनाले बिगुल बजाउने, तोप र बन्दुकबाट बढाइँ गर्ने तथा शहीदको आत्माको चिरशान्तिको कामनाका साथ पूजापाठ र प्राथनाको कार्यक्रम गरिनेछ ।
टुँडिखेलमा आयोजना हुने ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवशमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, मूल समारोहमा समितिका अध्यक्ष एवं प्रधानमन्त्री देउवा, प्रधानन्यायाधीश, सभामुख, उपप्रधानमन्त्रीहरु, संवैधानिक आयोगका अध्यक्ष र सदस्य, मन्त्रीलगायतको उपस्थिति रहनेछ ।
२००७ फागुन ७ गते १०३ वर्षे जहानियाँ राणा शासनको अन्त्य भएको दिनको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवश मनाइन्छ ।