काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा(एमाले)सँग हुन लागेको आफ्नो पार्टीको एकतालाई भाँड्न अनेकन प्रयत्न भइरहेका बताउनुभएको छ ।
अध्यक्ष दाहालले भन्नुभयो, “एकता प्रक्रियालाई बिथोल्न सकिन्छ कि भनेर अनेकन प्रयत्न भएका छन् । त्यस्ता कुनै पनि प्रयन्तलाई असफल पारेर नेपाली जनताको चाहनाबमोजिम एकता प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउन हामी प्रतिबद्ध छौँ ।”
अखिल(क्रान्तिकारी)को केन्द्रीय पदाधिकारीसँग आज आफ्नै निवास खुमलटारमा छलफल गर्दै अध्यक्ष दाहालले जनअपेक्षाविपरीत जाने छुट कोही कसैलाई पनि नभएकाले पार्टी एकता जुनसुकै हालतमा नै हुने विश्वास व्यक्त गर्नुभयो ।
एमाले नेतृत्वसँग सार्थक बहस र छलफल भइरहेको जानकारी दिँदै अध्यक्ष दाहालले सरकार गठन हुनुभन्दा पहिले नै पार्टी एकतालाई तार्किक निष्कर्षमा पुर्याउन पहल भइरहेको बताउनुभयो ।