काठमाडौं । प्रदेश नम्बर २ बाट राष्ट्रियसभा सदस्यका आठवटै प्रत्यासी निर्विरोध निर्वाचित भएका छन् । अन्य समूहबाट उम्मेदवारी दिएका समाजवादी पार्टी नेपालका मोहम्मद अख्तर हुसैनले आज आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उक्त प्रदेशका आठै सांसद निर्विरोध निर्वाचित भएका हुन् ।
प्रदेश नम्बर २ को राष्ट्रिय सभाका लागि अन्य समूहबाट नेपाली कांग्रेसका जीतेन्द्र देव, राजपाका रमेशप्रसाद यादव तथा एमालेका सुमनराज प्याकुरेल निर्वाचित भएका छन् भने महिला क्लस्टरमा माओवादी केन्द्रकी शशिकला दाहाल, नेपाली कांग्रेसकी मुक्ताकुमारी यादव तथा संघीय समाजवादी फोरमकी प्रमिला कुमारी निर्विरोध निर्वाचित भइसकेकी छिन् भने अल्पसंख्यक-अपाङ्ग क्लस्टरमा राजपाका वृषेशचन्द्र लाल तथा दलित क्लस्टरमा संघीय समाजवादी फोरमका रामप्रित पासमान निर्विरोध भइसकेका छन् ।
प्रमुख निर्वाचन अधिकृत रामकृष्ण उप्रेतीका अनुसार निर्विरोध निर्वाचित उम्मेदवारहरुको नाम सोमबार (भोलि) सूचना टाँस गरिने भए पनि निर्वाचन तालिकाअनुसार आठवटै सांसदलाई माघ २४ गतेमात्र प्रमाणपत्र प्रदान गरिने छ ।