बुटवल । प्रदेश नं. ५ का प्रमुख उमाकान्त झाले प्रदेशसभा बैठक र प्रदेश सरकार गठनको तयारी भइरहेको बताउनुभएको छ ।
प्रदेशसभा सदस्यलाई पद तथा गोपनियताको शपथग्रहण गराउने मुख्य काम सकिएपछि उहाँले प्रदेशसभा बैठक र प्रदेश सरकार गठनको तयारीमा जुट्नु भएको हो ।
प्रदेश प्रमुख झाले मुलुकमा प्रादेशिक संरचना नयाँ र पहिलो अभ्यास भएकाले संवैधानिक प्रावधान अनुसार नै सबै काम हुने बताउँदै तोकिएको समयभित्रै प्रदेशसभा बैठक र प्रदेश सरकार गठन हुने बताउनु भयाे ।
निर्वाचन आयोगले प्रदेशसभा सदस्यको निर्वाचन परिणाम सार्वजनिक गरेको २० दिनभित्र प्रदेशसभाको बैठक र ३० दिनभित्र मुख्यमन्त्री अर्थात सरकार गठन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रदेशसभाको बैठक आह्वानका लागि अब दुई हप्ताभन्दा कम समय छ भने सरकार गठनका लागि २३ दिन मात्र बाँकी छ । प्रदेश प्रमुख झाले आफूले संविधानले दिएको दायरा भित्रै रहेर बैठक आह्वान र सरकार गठनका लागि तयारी गरिरहेको जानकारी दिनुभयो ।
संसद् सञ्चालनका लागि आवश्यक कर्मचारी आएपछि समयभित्रै काम शुरु हुने बताउँदै उहाँले यही माघ २३ गते भित्र प्रदेश संसद् आह्वान गर्ने र सो बैठकले आगामी फागनु ३ गते भित्र मुख्यमन्त्री चयन गरिसक्नु पर्ने गरी तयारी भइरहेको बताउनुभयो ।