काठमाडौँ । निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा निर्वाचनको कार्यक्रम र प्रक्रियाका बारेमा पाँच राजनीतिक दलका नेतालाई अवगत गराएको छ ।
आयोगद्वारा मंगलबार आयोजित छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले यही माघ २४ गते हुने सो निर्वाचनका विविध पक्षमाथि जानकारी गराउनुभएको हो ।
निर्वाचनमा प्रदेश र स्थानीय तहका गरी कूल दुई हजार ५६ मतदाता छन् । बैठकपछि नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचन कार्यक्रम तथा प्रक्रियाका बारेमा जानकारी गराएको सङ्क्षिप्त प्रतिक्रिया दिनुभयो ।
बैठकपछि नेपाली काँग्रेसका नेता रमेश लेखकले राष्ट्रियसभाको निर्वाचन बारेमा आयोगले गरेका तयारीका बारेमा छलफलमा जानकारी गराएको सञ्चारकर्मीलाई बताउनुभयो ।
बैठकमा नेकपा एमालेका तर्फबाट नेता नेम्वाङ, अग्नि खरेल, नेकाका तर्फबाट नेता लेखक, बालकृष्ण खाँण, नेकपा माओवादी केन्द्रका तर्फबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, रामनारायण बिँडारी, सङ्घीय समाजवादी फोरमका तर्फबाट राजेन्द्र श्रेष्ठ, राष्ट्रिय जनता पार्टीका तर्फबाट नेता महन्थ ठाकुर तथा आयुक्तहरु ईश्वरी पौडेल, नगेन्द्र दाहाललगायतको सहभागिता थियो ।