काठमाण्डाैं । नेपाली काँग्रेसले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीबारे पार्टीको आन्तरिक गृहकार्य शुरु गरेको छ ।
पार्टीका शीर्ष नेताले आगामी माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रिया, अन्य दलसँगको सहकार्यलगायत विषयमा प्रारम्भिक छलफल गर्नुभएको पार्टी कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताबीच राष्ट्रियसभा निर्वाचनमा पार्टीको तयारी, प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकामबारेमा छलफल भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आगामी बैठकबाट प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने तयारी गर्नुभएको पृष्ठभूमिमा आज सो छलफल भएको बताइएको छ । काँग्रेसले राष्ट्रियसभा निर्वाचनको तयारीसँगै केन्द्रीय समिति बैठक बोलाउने तयारीसमेत गरिहेको छ ।
हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसार परिणाम नआएपछि समीक्षा गर्न भन्दै पार्टीमा केन्द्रीय समिति बैठक बोलाउन माग भइरहेको छ ।