काठमाण्डाैं । सरकारले अब बस्ने मन्त्रीपरिषद् बैठकबाट प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने तयारी गरेको छ ।
निर्वाचन आयोगले तत्काल प्रदेश प्रमुख नियुक्ति नगरे राष्ट्रियसभा निर्वाचन कार्यतालिका प्रभावित हुने चेतावनी दिएपछि सरकारले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने तयारी गरेको हो ।
प्रदेश प्रमुखको नियुक्ति गर्न पटक–पटक लिखित ताकेता गरेपनि सरकारले प्रदेश प्रमुख तोक्न ढिलाई गरेपछि निर्वाचन आयोगले सरकारलाई माघ ५ गतेको अन्तिम सीमा दिएको हो ।
प्रदेश प्रमुखमा भएको ढिलाईले प्रदेशसभा निर्वाचन परिणाम सार्वजनिक गर्न ढिलाई हुनका साथै राष्ट्रियसभा निर्वाचन कार्यतालिका समेत प्रभावित हुने खतरा बढेपछि आयोग डेडलाईन नै तोक्नुपर्ने अवस्थामा पुगेको हो ।
कानुनमन्त्री यज्ञवहादुर थापाले राजनीतिक सहमतिको आशामा ढिलाई भएको भन्दै अब सरकारले संवैधानिक व्यवस्था अनुसार छिट्टै प्रदेश प्रमुखको नियुक्ति र प्रदेश कार्यसंचालन स्थान एकैपटक तोक्ने बताउनु भयो ।