काठमाण्डाैं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई दिनुपर्ने बताएका छन्।
क्षेत्रीय निर्वाचन कार्यालयको नवनिर्मित भवनको सोमबार विराटनगरमा उद्घाटन गर्दै प्रमुख आयुक्त यादवले यो अधिकारले आयोग शक्तिशाली हुनाका साथै निर्वाचन सम्पन्न गर्न सहजता हुने धारणा व्यक्त गरे।
आयुक्त यादवले आगामी माघ ७ गतेसम्म प्रदेश प्रमुख नतोकिए माघ २४ गते हुने राष्ट्रसभाको निर्वाचन प्रक्रियालाई असर नपर्ने गरी निर्वाचन आयोग आफ्नो काम कार्यवाहीलाई अघि बढाउन बाध्य हुने बताए।
उनले प्रदेश प्रमुख नतोकिँदा निर्वाचनसम्बन्धी कानुनी जटिलता उत्पन्न भएकाले चाँडै प्रदेश प्रमुख तोक्न सरकारलाई आग्रह गरे।
उनले प्रदेश प्रमुख नतोकिँदा प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक सूची बुझाउने तथा प्रदेशसभा सदस्यले कसरी शपथ लिने भन्ने विषयमा समस्या उत्पन्न भएको बताए।