काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुसँग राष्ट्रियसभा सदस्य निर्वाचनका हस्ताक्षरको नमूना माग गरेको छ ।
आयोगले आज सूचना जारी गर्दै दलहरुलाई उम्मेदवारहरुको मनोनयनको औपचारिक पत्रमा प्रयोग गरिने हस्ताक्षरको नमूना माग गरेको हो ।
आयोगले उम्मेदवार मनोनयनको अधिकार प्राप्त व्यक्तिको नाम, थर, पद र दस्तखतको नमूना पेश गर्न दलहरुलाई माघ ३ गतेसम्मको समय दिएको छ ।
यही माघ २४ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनमा २१ दल दर्ता भएका छन् ।
निर्वाचन आयोगका अनुसार, मनोनयनको औपचारिक पत्र प्रदान गर्न दलले अख्तियारी दिएको व्यक्ति निर्वाचन आयोगमा अद्यावधिक गरिएको दलको केन्द्रीय कार्यकारिणी समितिको पदाधिकारी हुनुपर्नेछ ।
राष्ट्रियसभा निर्वाचनमा भाग लिन लागेको दलले दस्तखतको नमूना बुझाउँदा केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिले गरेको निर्णयको प्रमाणित प्रतिलिपीसमेत पेश गर्नुपर्ने आयोगको भनाई छ ।
दस्तखत नमूना फारम वेबसाइट र आयोगबाट लिन सकिने जनाइएको छ ।