काठमाण्डाैं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सहितका तीन प्रभावशाली नेताहरुको गोप्य बैठक बसेको छ । पौडेल सहित कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसीबीच आज महाराजगञ्जस्थित एक होटलमा गोप्य बैठक बसेको हो । करीब दुई घण्टा लामो बैठकले पार्टी सभापति शेरबहादुर देउवाकै कारण पार्टी इतिहासकै कमजोर अवस्थामा पुगेको निष्कर्ष निकालेको छ । अब पनि चुप लागेर बसिरहे पार्टी गम्भीर संकटमा पर्ने भन्दै उनीहरुले पार्टी बचाउन एक भएर अघि बढ्ने समझदारी गरेका छन् ।
गत बुधबार पनि गोंगबुमा प्रकाशमान सिंह, शशांक कोइराला र केसीबीच छलफल भएको थियो । यस्तै, कांग्रेसका युवा नेताहरु गगन थापा, चन्द्र भण्डारी, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदिप पौडेल लगायतका नेताहरु पनि काँग्रेसको नेतृत्व अब युवा पुस्ताले लिनुपर्ने बताउदै आएका छन् ।
पटक पटकको छलफलमा प्रभावशाली नेताहरुनै एकठाउँमा देखिएपछि देउवा घेराबन्दीमा परेको बुझिएको छ ।
गत मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा काँग्रेसले हार बेहोरेपछि देउवाले विशेष महाधिवेशन बोलाउनुपर्ने तथा राजीनामा दिनुपर्नेसम्मको माग कांग्रेसभित्र जोडतोडका साथ उठिरहेको छ ।
तर, हालैमात्र पार्टी प्रवक्ता हुनुभएका विश्वप्रकाश शर्माले भने केहिदिनमै केन्द्रीय कार्यसमितिको बैठक बस्ने बताउनुभएको छ । उहाँले पार्टीलाई बलियो र सशक्त बनाएर अगाडि बढाउनका लागि छलफल गर्न बैठक बोलाउन लागिएको बताउनु भयो । अाइतबार राजधानीमा आयोजित कार्यक्रममा प्रवक्ता शर्माले केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार आवश्यक परे महासमिति र महाधिवेशन प्रतिनिधिको बैठक बोलाइने स्पष्ट पार्नुभयो ।