काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेसले कुनै पनि पार्टीको कुनै नेतालाई प्रधानमन्त्री हुन प्रस्ताव नगरेको स्पष्ट पारेका छन् ।
आइतबार काठमाण्डौंमा आयोजित साक्षात्कारमा प्रवक्ता शर्माले पार्टी जनादेशलाई आत्मासात गरेर अगाडि बढ्ने बताए ।
शर्माले सरकारले चाँडो प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्ने जानकारी दिँदै राष्ट्रियसभाको निर्वाचनपछि आगामी फागुनको पहिलो वा दोस्रो हप्तामा नयाँ सरकार बन्ने पनि बताए ।
साथै प्रतिनिधि तथा प्रदेशसभामा ल्याएको नतिजाका बारेमा छलफल गर्न केही दिनभित्रै पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्ने बताएका छन् । पार्टीलाई बलियो र सशक्त बनाएर अगाडि बढाउनका लागि गम्भीर छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाउन लागिएको उनले बताए । पार्टीभित्र पराजयबारे गम्भीर समीक्षा गरेर नवजीवन दिने बाटोमा अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।
हामी बदलिन्छौँ, देश बदल्छौँ भन्ने दृढ इच्छा राखेर उमेरभन्दा पनि कार्यसूचीलाई प्राथमिकतामा राखेर अगाडि बढे मात्र सफल हुन सकिने उनको भनाइ थियो ।
प्रवक्ता शर्माले केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार आवश्यक परे महासमिति र महाधिवेशन प्रतिनिधिको बैठक बोलाइने बताए ।