धनकुटा । प्रमुख नगदे बालीका रुपमा खेती भइरहेको अदुवाको मूल्यमा कमी आएपछि धनकुटाका किसान समस्यामा परेका छन् ।
आन्तरिक बजारमा हुने सीमित खपतबाहेक अदुवाको गुणस्तर नभएको भन्दै भारतीय व्यापारीले लैजान नमानेपछि किसानमा निराशा बढेको खाल्सा छिन्ताङ शहीद भूमि गाउँपालिकाका किसान नरेन्द्र राईले बताउनु भयाे ।
वन्यजन्तुले नखाने बिनापानी पनि खेती गर्न सकिने भएकाले धनकुटाका प्रायः किसानले अदुवाखेतीलाई प्रमुख नगदेबालीका रुपमा लिदै आएका उहाँको भनाइ छ ।
तीन वर्षयता लगातार मूल्य कमीका कारण किसान बढी प्रभावित भएपछि निराशा बढेको उल्लेख गर्दै मूल्य कमीका कारण व्यापारीले प्रतिकिलो २० मा पनि अदुवा लान नमानेपछि निराशा बढेको कृषक राइको गुनासो छ ।
गतवर्ष भारतीय बजारमा प्रतिकेजी १०० भन्दा बढी पुगेको अदुवाबाट अहिले परिश्रमको मूल्य नै उठ्न गाह्रो परेको छ ।
भारतले अदुवाको गुणस्तर परीक्षणमा एकद्वार प्रणाली लागू गरेपछि पहिलाको जस्तो अदुवा भारत निकासी गर्न सहज नभएको र व्यापारीले अदुवानै लैजान छोडेपछि साँगुरीगढी गाउँपालिका क्षेत्रका किसानले अहिले वैकल्पिक खेती गर्ने सोच बनाइरहेको अर्का कृषक रमेश राई बताउनुहुन्छ ।
भारतीय बजारमा मात्र निर्भर हुनुपरेको र पछिल्लो समयमा भारतले अदुवा लान नमान्दा नेपालका अदुवा व्यापारसँगै किसान बढी प्रभावित भएको उहाँको भनाइ छ ।
गतवर्ष २५० हेक्टरमा भएको अदुवाखेतीबाट तीन हजार ६९७ मेट्रिक टन उत्पादन भएकामा १४ करोड ४८ लाख बराबरको तीन हजार ५१२ मेट्रिक टन अदुवा जिल्ला बाहिर निकासी भएको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकमा छ । गतवर्ष अदुवा प्रतिकिलो ९० देखि १५० सम्म मूल्य थियो । मूल्य कमीसँगै अदुवाको उत्पादन र निकासी प्रभावित भएको जिल्ला कृषि कार्यालयका प्राविधिक सूर्यप्रसाद सापकोटा बताउनुहुन्छ ।
मूल्यमा कमी आए पनि उत्पादन बढी भएकाले उत्पादन भएको चार हजार ६६ मेट्रिक टनमध्ये १४ करोड ६३ लाख ६० हजार बराबरको तीन हजार ६५९ मेट्रिक टन अदुवा निकासी भएको थियो । मूल्य वृद्धि नभएपछि यसवर्ष जिल्लामा अदुवा खेती खुम्चिएर २३५ हेक्टरमा मात्र सीमित भएको कार्यालय स्रोतको भनाइ छ ।