विर्तामोड । नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी हिजोदेखि पूर्वी सीमा नाकाहरुको भ्रमणमा निस्केका छन् । राजदूत पुरीको पूर्वी सीमा भ्रमण अर्थपूर्ण रहेको व्यवसायीहरुले बताएका छन् ।
हिजो मेची भन्सार कार्यालय काँकरभिट्टामा आयोजित कार्यक्रममा व्यवसायीहरुसंग उनले अन्तरक्रिया गरेका थिए । व्यवसायीहरुका अनुसार अहिले भारत विरोधी मानसिकता बढिरहेको अवस्थामा राजदूत पुरीको पूर्वी नाका भ्रमण नेपाली व्यवसायीलाई फकाउने जस्तो देखिएको छ ।
पूर्वी नेपाल र भारतविचका सीमा नाकाहरुमा दुई देशविचका व्यापारमा देखिएका समस्याका बारेमा राजदूत पुरीले जिज्ञासा राखेको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशवराज पाण्डेले बताए ।
पाण्डेले भने, ‘हामीले भारततिर मालबाहक सवारी साधनको पार्किङको दुरावस्थाका बारेमा जानकारी गरायौं । जुन हामीले पहिलादेखि नै भन्दै आएका छौं कि त्यहाँ पार्किङको समस्या छ भनेर ।’
उनका अनुसार मेची पुलको अवस्थाका बारेमा पनि नेपाली व्यवसायीहरुले कुरा राखेका थिए । उनीहरुले नयाँ मेची पुल चाँडो नबने पूर्वी नेपालबाट हुने नेपाल भारतको व्यापार कुनै दिन अकास्मात बन्द हुनसक्ने बताएका थिए ।
नेपाली व्यवसायीका कुरा सुनेपछि भारतीय राजदूत पुरीले समस्या समाधानका लागि आफू प्रयासरत रहेको बताएका थिए । राजदूत पुरी आज इलामको पशुपतिनगर नाका जाने बताइएको छ ।