काठमाण्डाैं । कम्युनिष्ट गठबन्धनको संयुक्त कार्यदलले बाम एकता अन्तिम चरणमा पुगेकाे जनाएकाे छ । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार बसेको बैठकमा राष्ट्रियसभाका साझा उम्मेदवार र प्रदेश सरकारको प्रारम्भिक खाकालगायतका विषयमा सामान्य छलफल मात्र भएको कार्यदल सदस्य एवं एमाले नेता सुवास नेम्वाङले बताउनु भयो ।
कार्यदलमा रहेका एमाले नेता सुरेन्द्र पाण्डे र शंकर पोख्रेल तथा माओवादी नेता वर्षमान पुन उपस्थित हुन नसकेपछि आज थप छलफल अघि नबढेको उहाँले बताउनुभयो । हिजो आ–आफ्ना पार्टीमा आन्तरिक छलफल गरेपछि कार्यदलको पहिलो बैठक आज बसेको हो ।
कार्यदलले सहमति जुटाएका विषय एकता संयोजन समितिमा वुझाउने छ । पार्टी एकता प्रक्रियालाई अन्तिम चरणमा र्पुयाएको दावी गर्दै आएको वाम गठबन्धनले नयाँ सरकार गठनअघि नै पार्टी एकता प्रक्रिया टुंगोमा र्पुयाउने तयारी गरेको छ ।
नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रियसभाको चुनाव, प्रदेशसभा गठन र प्रदेश सरकार निर्माणको लागि कार्यदल गठन गरेको हो ।