काठमाण्डाैं । माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरूले विनाविभागीय भएयताको सेवा सुविधा नलिने घोषणा गरेका छन्। शुक्रबार राजीनामा बुझाएपछि माओवादीबाट मन्त्री भएका नेता गिरिराजमणि पोखरेलले यस्तो घोषणा गरेका हुन्।
प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री फिर्ता गरेको पत्र बुझाएर प्रधानमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयबाट फर्केपछि नेता पोखरेलले विनाविभागीय भएयताको सेवा सुविधा नलिने र लिएको भए पनि फिर्ता गर्ने घोषणा गरेका हुन्।
उनले भने, ‘हामी विनाविभागीय बनिसकेपछि सरकारबाट प्राप्त हुने कुनै पनि सेवा सुविधा नलिने मैले निर्णय गरेको छुं।’ उनले सरकारमा सहभागी भएका अन्य नेताहरूले पनि सेवासुविधा नलिने बताए।
उनले भने, ‘माओवादीबाट सरकारमा सहभागी अधिकांश साथीहरूले पनि नलिने र लिइसकेको भए पनि फिर्ता गर्ने सल्लाह गरिरहेका छौं।’
माओवादीबाट १६ जना मन्त्रिपरिषद्मा सहभागी भएका थिए। त्यस्तै, नेकपा संयुक्तबाट पनि एकजना मन्त्री सहभागी थिए।
सरकारमा सहभागी नेकपा संयुक्त पार्टी निर्वाचनपूर्व माओवादी केन्द्रसँग एकतामा गएपछि उक्त पार्टीको मन्त्री पनि सरकारबाट फिर्ता गरिएको छ।