काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बालकोटमा आइतबार साँझ करिब एक घन्टा भएको वार्तामा पार्टी एकता र सरकार गठनका बीचमा सहमति जुटाउन दुवै पार्टीको निर्णायक बैठक बस्ने निर्णय भएको छ।
दुई पार्टीबीच एकता संयोजन समितिको बैठक मंगलबार बस्ने सहमति पनि बैठकमा भएको छ। बैठकमा राजनीतिक, वैचारिक र संगठनात्मक समिति बनाएर एकता प्रक्रिया अगाडि बढाउने सहमति भएको भेटपछि दाहालले पत्रकारलाई जानकारी दिए।
एमाले स्थायी समिति बैठक पनि सोमबार नै बस्नेछ।
केही दिनयता अस्वस्थ रहेका ओली नियमित चेकजाँचका लागि विदेश जानुअघि नै पार्टी एकताका विषयमा ठोस निर्णय गर्ने विषयमा दुई नेताबीच सहमति भएको पनि ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। भेटमा पछिल्लो राजनीतिक विकासक्रम, पार्टी एकता, नयाँ सरकार गठन लगायत विषयमा छलफल भएकोसमेत अधिकारीले जानकारी दिए। ओली नियमित स्वास्थ्य चेकजाँचका लागि २६ गते थाइल्याण्ड जाने तयारीमा छन्।