विर्तामोड । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमाले र माओवादी केन्द्रविचको एकतापछि एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ हुने बताएका छन् ।
गृह जिल्ला इलाम जाने क्रममा विहिबार झापाको विर्तामोडमा पत्रकारसामू कुरा गर्दै एमाले नेता खनालले पार्टीका नामबाट पच्छर काटिने बताए ।
नेपालका बाम पार्टीहरुको माउ पार्टी नेपाल कम्युनिष्ट पार्टी रहेकाले सोही नाम हुने उनको भनाइ थियो । खनालले भने, ‘बाम पार्टीहरु फुटेर नामका पछि पुच्छर झुण्ड्याइयो । ति पुच्छर अब काटिन्छन् ।’
उनले कसैलाई ढोगेर आफू राष्ट्रपति नबन्ने बताएका छन् । एमाले नेता खनालले सर्वसम्मत निर्णय भएमात्र आफूलाई राष्ट्रपति पद स्वीकार्य हुने बताए । उनले भने, ‘राष्ट्रपति महत्वपूर्ण पद भए पनि मलाई राष्ट्रपति बनाइदेउ भनेर म हिँड्नेवाला छैन ।’
खनालले नेकपा एमाले र नेकपा माओवादी केन्द्रविचको एकतामा ‘जनताको बहुदलीय जनवाद’को सिद्धान्त नहराउने बताए । उनले जनताको बहुदलीय जनवादले खेलेको भूमिकालाई अंगिकार गरेरै पार्टी एकता हुने दाबी गरे ।
उनले भने, ‘जनताको बहुदलीय जनवादले खेलेको भूमिकालाई अस्वीकार गर्न मिल्दैन । त्यसैको सार तत्वलाई दृढतापूर्वक ग्रहण गर्दै अगाडि बढ्नुपर्छ ।’