काठमाण्डाैं । सरकारले ७ वटै प्रदेशको अस्थायी राजधानीको खाका तयार पारेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सहरी विकास मन्त्रालयले ७ वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको हो। मन्त्रिपरिषद कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले भौतिक पूर्वाधारका आधारमा अस्थायी राजधानीको खाका तयार गरिएको बताए।
उनका अनुसार प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, प्रदेश ३ को भक्तपुरको ठिमी, प्रदेश ४ को पोखरा, प्रदेश ५ को दाङ, प्रदेश ६ को सुर्खेत र प्रदेश ७ को धनगढीलाई अस्थायी राजधानी तोकिएको छ। सहरी विकास मन्त्रालयले स्थलगत अध्ययनपछि ती ठाउँ उपयुक्त हुने भएपछि राजधानी राख्न प्रस्ताव गरेको हो।
अस्थायी रुपमा तोकिएका ती मुकाम प्रदेश सरकारले पुनः हेरफेर गर्न सक्नेछ। संवैधानिक रुपमा प्रदेश सरकारको दुई तिहाई बहुमतले राजधानी तोक्न सक्नेछ।
सहसचिव पन्थीले भौतिक पूर्वाधार, कर्मचारीको उपलब्धता, सञ्चार, साधनको उपलब्धता र विद्युत् आपूर्तिको हिसाबले ती अस्थायी राजधानी तोकिएको बताएका छन् । नेपाल लाइभबाट