असार ६ गते नेपालको इतिहासमा फेरि अर्को एउटा कालो दिन ।
त्यो सोमबार त काबुलमा घटना भएपछि मृतकका परिवारले थाहा पाए, मुर्छा परे । अनि कति बिहोस भए होला ।
तर असार ८ गते सारा देश रोयो ।
जुन दिन सरकारले काबुल घटनामा मारिएका १२ जना नेपाली र घर फर्कन चाहानेलाई ल्याउने निर्णय गर्यो त्यो क्षण सम्भवतःओली सरकारको अहिलेसम्मकै सराहनीय र तारिफयोग्य काम थियो ।
काबुल आक्रमणमा मारिएका व्यक्तिका आफन्त सरकारको तुरुन्त कदम देखेर सरकारप्रति कृतज्ञ भए होला ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मृतकको शव लिन पुगेका आफन्तले आजसम्म कुनै पनि सरकारले प्रवासी कामदारको मृत्युको विषयमा यति सक्रियताका साथ काम गरेको नपाएको भन्दै ओली सरकारलाई धन्यवाद पनि दिए ।
यसअघि प्रवासमा मृत्यु भएका कामदारहरू बाकसमा नेपाल आइपुग्दा राज्यले उनीहरूलाई वास्ता गरेको जस्तो मैले बुझेको छैन ।
प्रधानमन्त्री ओली आफैं विमानस्थल पुगेर मारिएका नेपालीको शवलाई श्रद्धाञ्जली दिए ।
त्यस्तै श्रममन्त्री दीपक बोहराले विमानस्थलमै पुगेर मृतकका आफन्तसँग भेटघाट पनि गरे । अबैधानिक नै भएपनि जनही १० लाख रुपैयाँदिने सरकारले घोषणा पनि गर्यो ।
तर के यतिकैमा सकियो त सरकारको दायित्व ? के बाकसमा बेरिएर आएकालाई सरकारले सम्मान गर्दैमा एउटा अभिभावकको भूमिका निर्वाह भयो त ?
बाकसमा आएकालाई लिन गएर महान बन्ने ? त्यस्तो मृत्युसँग जुद्धै जीवन जिउन बाध्य बनाउने आफ्ना नागरिकलाई ?
अनि तिनै नागरिकले खुन पसिना गरेर पठाएको रेमिट्यान्सले आलिसान महलमा एसीको चिसो खाएर मात्र बस्ने ?
यस्तो घटना यसपटक मात्र भएको हैन, पटक पटक हुन्छन् । यस्ता घटनामा मारिन्छन् हाम्रै नेपाली ।
कहिले इराकमा रेटिएका छन्, कहिले खाडी मुलुकमा मारिन्छन् त कहिले काबुलमा बमको शिकार हुन्छन् । के नेपालीको नियति नै यही हो त ?
के सँधै यसैगरी मारिउन् हाम्रा नेपाली ? जसको खुनपसिनाबाट आएको रेमिट्यान्सले धानेको छ देशको अर्थतन्त्र ।
होइन भने नागरिकलाई बिदेश पलायन हुनबाट बचाउ । देशमै रोजगारीको अवस्था सिर्जना गराउ । गाउँ गाउँमा कृषि फार्म खोल, युवालाई रोजगारीको अवसर देउ । कारखाना खोल, सिप भएर पनि अवसर नपाएकाहरूलाई अवसर देउ ।
अनि हेरौं हाम्रो देशले कति चाँडो फड्को मार्नेछ । भारतले नाकाबन्दी लाए पनि, अरु कुनै देशले जे गरे पनि हामीलाई फरक पर्ने छैन ।
प्रधानमन्त्री भन्नुहुन्छ , ‘म गाउँले, हली गोठालो गरेर हुर्केको ।’ हो, अहिले त्यही हली गोठालो गरेर हुर्केको मान्छेसँग देशको चाबी छ । समय यही हो । मौका पनि यही हो । यदि यो समय तपाईं प्रधानमन्त्री कम र अभिभावक ज्यादा हुन सक्नुभयो भने गाउँ गाउँबाट, शहर शहर अनि कुना कुनाबाट तपाइँका सबै सपना साकार पार्न हातमा हात दिन आउनेछन् युवा ।
देशमै रोजगारीको अवस्था सिर्जना भए आफ्नो घर परिवार छाडेर त्यो पराइ भूमिमा दुख गर्न, खुन पसिना बगाउन अनि ज्यान गुमाउन जान कसलाई रहर होला र ?
1 Comment
Greetings! Very useful advice within this post!
It’s the little changes that produce the largest changes.
Thanks a lot for sharing!