“परिवर्तन भनेको क्रान्ति हो । क्रान्ति सजिलो कुरा होइन । यसका निम्ति विचारलाई बलियो बनाउनु, अवस्थाबारे गम्भिरतापूर्वक सोच्नु र त्यसै अनुरुपको योजना बनाउनुपर्छ ।”
ओशोको यो महान बिचार झैँ आज नेपालमा यस्तो क्रान्तिको आवश्यकता छ जुन क्रान्तिले नेपालीको मुहारमा चमत्कार ल्याओस् । परिवर्तन ल्याओस् । सम्पूर्ण नेपाली जनताले चाहेको नेपाल, एक परिवर्तित नेपाल ।
जुन नेपालमा बन्द, हड्ताल, हत्या, हिंसा, लुटपाट जस्ता उछृङ्खल कार्यहरुको स्वर गुञ्जिने छैन । जुन नेपाल आत्मनिर्भर हुनेछ । विश्वलाई नमुना हुनेछ । त्यो उदाहरणीय हुनेछ ।
स्वदेशी उत्पादनले बढवा पाउने छन् । रेल मार्ग बन्नेछ । लोडसेडिङ्ग । यो शब्द शब्दकोषमै सीमित हुनेछ । फुस्रा भाषण र आश्वसनको सामना गर्नु पर्ने छैन ।
राजनीतिक वृत्तमा ऐक्यबद्धता देखिने छ । स्थिरता छाउने छ । नेतृत्वपङ्तिमा रहेकाहरुको आपसी शौहार्दताले विश्वलाई नै लोभ्याउने छ ।
नेपालमै पेट्रोलियम पदार्थ उत्खनन् हुनेछ । अनि, जुन सुकै छिमेकी राष्ट्र पनि नाकाबन्दी गर्नु अघि एक पटक सोच्न बाध्य हुनेछन् ।
परिस्थिति उल्टनेछ । नुनदेखि सुनसम्म भारतसँग निर्भर रहेका हामी अब स्वदेशमै सबै सामग्री सहज रुपमा पाउने छौं । स्वदेशी उत्पादनमा रम्ने छौं ।
र, सर्वोच्च शिखर सगरमाथा झैं नेपालीहरुले आफ्नो शिर विश्वसामु ठड्याउने छन् । नेपाली पाखाका ती डाँफे, मुनाल र मयुरमा झैं नेपालीको मुहारमा मुस्कान छाउनेछ । नेपाल आमाका वीर सपुतहरुको वर्षौ अघिदेखिको सपना साकार हुनेछन् ।
र, नेपालले पाउने छ, एक नयाँ आकार । नयाँ शान । अनि, बेग्लै हुनेछ नेपाल र नेपालीको विश्वमा मान ।
त्यही हो, सम्पूर्ण नेपालीले चाहेको नेपाल । सुन्दर, शान्त, समृद्ध र एउटा परिवर्तित नेपाल ।
नेपाल विश्वमान चित्रमा निकै सानो देखिन्छ । तर, यहाँका प्राकृतिक छटाहरुले लाखौं पर्यटकहरु भित्र्याइरहेको छ । आर्थिक विकासका लागि पर्यटन व्यवासाय मेरुदण्डको रुपमा खडा छ ।
भूकम्प गयो । छिमेकीले गिद्धे दृष्टि लायो । तर, पनि हामीले हारेनौं । दृढ इच्छा शक्तिले जित्यो । परिवर्तनका सोचहरु विजयी भए ।
ऋषिमुनिहरुको तपोभूमि नेपाल । उत्तरमा ठडिएको सर्वोच्च शिखर । पूर्वमा लमतन्न परेको समथर फाँट । पहाडी भेगमा लालीगुराँसका गुच्छाहरु । यी सबै सुन माथि सुगन्ध थप्छन् ।
जलस्रोतमा विश्वमै दोस्रो धनी देश । यहाँका कलकल बग्ने नदीहरु । सधा नेपालीहरु जिस्काइरहेका हुन्छन् ।
लाग्छ– स्वर्ग यही हो । प्राकृतिक सौन्दर्यको अनुपम नमूना । सम्पदाहरुको सही सदुपयोगले आज यो देशको नाम स्वर्णाक्षरले विश्वको इतिहासमा लेखिन सम्भव भएको हो ।
तानाशाहीहरुको मुखबाट छुट्कारा दिन नेपाली वीरहरुले रगतको होली खेले । जीवनको उत्सर्ग गरे । आफूभन्दा पनि राष्ट्र र राष्ट्रियतालाई सधा माथि राखिरहे ।
अनि, नेपाल चम्कियो । अहिले यो देश, बगैँचामा फुल्ने बास्नदार फूल झैँ मगमगाइरहेछ । लोकको स्वार्थ स्वोपरी छ अहिले । जे छ देशको छ । व्यक्तिगत केही छैन ।
छुवाछूत, अन्धविश्वास, कुरीति, कुसंस्कार । आदि… इत्यादी । इतिहासकै पानामा सीमित छन् ।
स्वीजल्याण्ड बनाउछु भन्ने भाषण आज पूरा भएको छ । सोचे भन्दा धेरै प्रगति प्राप्त भएको छ ।
तर, हामी अझै प्रगतिथुम्कीमा पुगेका छैनौं । थाकेका छैनौं । हिँडिरहेका छौं । हामीमा सबैभन्दा ठूलो शक्ति धैर्यता छ । एकता छ ।
‘नयाँ नेपाल’ । अब यो नाराले सार्थकता पाएको छ । जनता नेतृत्व पङ्तिको जयजयकार गर्न थाले ।
राजनीतिको आडमा सोझालाई फसाउने । राजनीतिलाई भर्याङ्ग बनाएर आफू सत्ता शिखरमा पुग्ने । यस्ता सपना बोकेकाहरु विलय भएर गए ।
हिमालको चिसो हावा । नेपालीको मनलाई फुरुङ्ग बनाउन थाल्छ । अझ नूतन काम गर्न उर्जा दिन्छ । जोशिलो बनाइदिन्छ ।
र्याफ्टिङ, ग्लाइडिङ् र पर्वतारोहण जस्ता साहसिक खेलहरुमा लाखौं परम आनन्दको रसास्वादन गर्न तल्लीन हुन थाल्छन् ।
जस्तोसुकै कृतिम वस्तुको उपभोगबाट पनि पाउन नसकिने आनन्द मासिनहरुले यहाँ पाउने थाले । वास्तवमै, यो सुख अविस्मरणीय एवम् अतुलनीय छ ।
देशको मुहार फेर्ने वाचा गरेका नेताले विगत र त्यस बखतको वर्तमानलाई तुलनात्मक रुपले समीक्षा गरेपछि प्राप्त भएको प्रतिफल हो यो ।
नेतृत्वकर्ता र आम जनमानस होस्टेमा हैँसे गर्दै अघि बढेपछि प्राप्त अवस्था हो यो । नेपाल नवीनतम् ज्ञान र सीपबाट सुसज्जित छ आज ।
नेपाल अहिले अन्य देशहरुका लागि विप्रेषणको स्रोत बनेको छ । हो, त्यहीँ नेपाल हो यो जसका लागि केही वर्ष अघि विप्रेषण अर्थतन्त्र धान्ने मुख्य स्रोत थियो ।
गरिबी, बेरोजगारी जस्ता समस्याहरु नेतृत्वकर्ताको दीर्घकालिन योजनाले इतिश्री भए । पहिलेको अवस्था बारे भन्दा युवा पिडी पत्याउनै छाडे । उनीहरुलाई ती सब दन्त्य कथा लाग्न थाले ।
कृषिमा परम्परागत प्रणालीको समाप्त भयो । आधुनिक, व्यवसायिक र प्रगतिशील योजना बने । जसले कृषि क्षेत्र पनि निक्कै मौलायो ।
मानवीय श्रमको अलावा वैज्ञानिक उपजहरुको प्रयोगले व्यापकता पायो । उत्पादन बढ्यो ।
आदी कालबाटै विदेशीहरुको आडमा उभिएको नेपाल अब वास्तवमै ‘नयाँ नेपाल’को रुपमा चिनिन थाल्यो । नारा र भाषणमा होइन, व्यवाहारिकतामा जोड दिइयो ।
सरकारमा रहेका दल राष्ट्रिय स्वार्थलाई शिरोपर गर्छन् । र, प्रतिपक्षी दल ‘चेक एण्ड ब्यालेन्स’ को दह्रो भूमिकामा देखिन्छ ।
वीर पूर्खा र सहीदहरु जो मरेर पनि बाँचिरहेका छन् । उनीहरुको सपनाले सार्थका पायो । उनीहरुको पे्ररणादायक जीवनीहरुबाट पाइने ज्ञानहरुलाई पनि व्यवहारमा उतारियो ।
पुरातनवादी सोच फेरियो । अरुको भन्दा पनि आफ्नो दोषलाई केलाउन थालियो ।
हो, यही हो कल्पनाको नेपाल । जसले आम जनजीवनमा सकारात्मक प्रभाव पारोस् । धेरथोर भए पनि प्रगतिका पानाहरु थपोस् । जीवनस्तर उकासोस् ।
यदि यसो भएको खण्डमा विश्वकै सर्वोच्च शिखरको उचाइ पनि बढोत्तरी हुनेछ । पहाडी भेगमा पाइने वृक्षहरुले प्रदान गर्ने शितलता पनि बढ्ने छ ।
सबै एकजुट हुनेछन् । एकताको मालामा गाँसिनेछन् । अनि, आम जनताको मुखबाट एउटै आवाज गुञ्जिनेछ । र, त्यो हो नयाँ नेपाल ।
जननी जन्मभूमिश्य स्वर्गादपि गरियसी, यो पङ्तिलाई मनन् गर्दै पुनर्निर्माणमा सिङ्गो देश जुट्ने छ ।
आज एउटा कलाकारले भूकम्प पीडितको वस्ती बनाइदिँदा हामी ताली बजाउछौं । गुनगान गाउँछौं । छापाहरुमा ती खबरले पहिलो पृष्ठमा स्थान ओघट्छन् । यदी एउटा कलाकारले गर्दा हुन्छ भने हामी किन नगर्ने ?
आउनुहोस्, जुटौं हामी पनि । लागौं नयाँ नेपाल बनाउन । एकजुट होऔं । सन्ततिहरु पनि हामीप्रति नतमस्तक एवम् कृतज्ञ होऊन् ।
यही हो सम्पूर्ण नेपालीले चाहेको नेपाल । वीर सहिदहरुको कल्पनाको नेपाल । सुन्दर, शान्त, सुरक्षित, सुव्यवस्थित, बन्दमुक्त एक मात्र देश नेपाल ।
नयाँ नेपालको निर्माण पश्चात् विश्वले पुष्पगुच्छाले अभिनन्दित गर्नेछ । विश्वको लागि हामी उदाहरणको पात्र बन्नेछौं ।
हामीलाई हेरेर विश्व शान्तिको मालामा गाँसिने छ । र, नेपालमा टायरको कालो धुँवाले होइन, शान्तिको प्रतीक परेवाले स्थान पाउनेछन् ।
-(लेखक रेडियो विराट ८८.५ मगाहर्ज, विर्तामोडका समाचार सम्पादक हुन् ।)
1 Comment
Lekhai rah garaima farak parchha mahodaya…