
बिर्तामोड । आसन्न स्थानीय तहको निर्वाचन विरोधी गतिविधि गर्ने चारजनालाई प्रहरीले जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिके राउत समूहकी जिल्ला संयोजक कौशिला महतो, विप्लप माओवादीका मेची अञ्चल ब्युरो इन्चार्ज सुमन लिम्बु, जिल्ला सचिव तारा थापा र मेची अञ्चल ब्युरो सदस्य डिल्ली निरौला छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख एसपी शैलेश थापा क्षेत्रीका अनुसार महतोलाई गौरीगञ्ज, लिम्बु र थापालाई गरामनी र पराजुलीलाई दमकबाट पक्राउ गरिएको हो ।
उनका अनुसार महतोलाई निर्वाचनविरुद्ध प्रचारप्रचारमा सक्रिय भएको अवस्थामा पक्राउ गरिएको हो भने लिम्बु र थापालाई कसरी निर्वाचनलाई सशक्त बहिष्कार गर्न सकिन्छ भनेर छलफल गर्दा गर्दै पक्राउ गरिएको थियो ।
त्यस्तै, पराजुलीलाई अघिल्लोपटक पनि निर्वाचनविरुद्धको गतिविधिमा संलग्न भएको भन्दै ‘प्रिभेन्टिभ एरेस्ट’ गरिएको हो । झापाका बुद्धशान्ति, कमल र शिवसताक्षीका ४८ मतदान केन्द्र अति सम्वेदनशील, ९८ सम्वेदनशील र १ सय ३९ सामान्य रहेको प्रहरीले जनाएको छ ।