काठमाडौं । निर्वाचन अायाेगले स्थानीय तह दाेस्राे चरणकाे निर्वाचनकाे मिति सार्न अस्वीकार गरेकाे छ ।
सत्तारुढ दल र निर्वाचन आयोगका पदाधिकारीहरुबीच अाज भएको छलफलमा निर्वाचन आयोगले चुनाव सार्न नसकिने बताएकाे छ ।
सत्ता साझेदार दलले तराई मधेसका केही जिल्लामा अर्को चरणमा निर्वाचन गर्नेबारे गरेको प्रस्ताव निर्वाचन आयोगका पदाधिकारीले अस्विकार गरेका हुन् ।
राजपा निर्वाचनमा आउने अबस्थामा केहि स्थानमा अर्को चरणमा निर्वाचन गर्न सकिने भन्दै सत्तासाझेदार दलले आज त्यसवारे आयोग पदाधिकारीसंग छलफल गरेका हुन ।
यसअघि पटक–पटक मिति सारि सकिएको भन्दै आयोग पदाधिकारीले अब पनि सार्दै गए संघ र प्रदेशको निर्वाचन समेत प्रभावित हुन सक्ने बताएका थिए ।
प्रधानमन्त्री शेरवहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री जनार्दन शर्मा तथा आयोग पदाधिकारीबीच भएको बैठकमा राजपालाई निर्वाचनमा ल्याउने उपायबारे छलफल भएको थियो ।
प्रमुख निर्वाचन आयुक्त अयोधि प्रसाद यादवले असार १४ गते निर्वाचनका लागी सम्पुर्ण तयारी सकिएको भन्दै गृहमन्त्रालयले पनि सुरक्षा अवस्था मिलाउने आश्वासन दिएकाले भोलीबाट निर्वाचन प्रक्रिया अघि बढ्ने बताउनुभएको थियो ।
प्रमुख आयुक्त यादवले पछि पनि सहज वातावरण सृजना हुने ग्यारेन्टी नभएको भन्दै निर्वाचन नसार्न सुझाव दिनुभएको बैठकमा सहभागी आयोगका सचिव गोपीनाथ मैनालीले जानकारी दिनुभयो ।