काठमाडौं । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाई हुँदैछ ।
आयोगको निर्णय विरुद्ध दर्ता भएको रिटले गत आइतबार प्राथमिकतामा नपरेपछि आजका लागि सारिएको थियो । आइतबार उक्त रिटको क्रम संख्या ‘ध’ नम्बरमा परेकोमा मुद्दा हेर्न नभ्याएपछि आजका लागि पेशी सरेको हो ।
आज दुबै पक्षसंगको छलफलपछि सर्वोच्चले निर्णय दिने सम्भावना छ । भरतपुर वडा नम्बर १९ का वडा सदस्यका उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले निर्वाचन ऐनको दफा ५१ बमोजिम च्यातिएका मतपत्र बदर गरी बाँकी मतपत्रको गणना गर्न माग गर्दै रिट दायर गर्नुभएको थियो ।
रिटमा निर्वाचन आयोग, आयोगको अनुगमन समिति, जिल्ला निर्वाचन अधिकृतको कार्यालय लगायतलाइ बिपक्षी बनाइएको छ । सर्वोच्चले दुबैपक्षलाई छलफलमा बोलाउँदै पुनः निर्वाचन गर्ने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिएको थियो ।