
काठमाण्डाैं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता माधवकुमार नेपालले निर्वाचन आयोग आफैं षडयन्त्रमा फसेको आरोप लगाउनु भएको छ ।
नेता नेपालले भरतपुर महानगरपालिकामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय एमालेलाई हराउने षडयन्त्र अनुरुप आएको दावी गर्दै आपत्ति पनि जनाउनु भयो ।
उहाँले निर्वाचनलाई सहज रुपमा सम्पन्न हुन नदिन सत्ता पक्षबाट हुँदै आएको षडयन्त्रमा निर्वाचन आयोग फस्न नहुनेतर्फ सचेत पनि गराउनु भयो ।
पार्टीबाट निर्वाचित प्रदेश नम्बर ३ का जनप्रतिनिधिहरुलाई बधाई दिन ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले लोकतन्त्रलाई बलियो बनाउन, अनुचित कदमलाई रोक्न र निर्वाचनलाई सहज रुपले सम्पन्न गर्न निर्वाचन आयोगले कसैको दवावमा पर्न नहुने पनि स्पष्ट पार्नु भयो ।
नेता नेपालले सरकारले चरण चरणमा निर्वाचन गरेर एमालेलाई हराउने षडयन्त्र गरिरहेको आरोप समेत लगाउनु भयो ।
यस्तै वरिष्ठ नेता झलनाथ खनालले मुलुकको राष्ट्रियतालाई सुदृढ बनाउन एकतावद्ध भएर अघि बढन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनु भयो ।
उहाँले राष्ट्रियता र लोकतन्त्रलाई सृदृढ बनाएर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने पनि उल्लेख गर्नु भयो ।
एमाले महासचिव इश्वर पोखरेलले देश र जनताको हितमा एमालेले काम गर्छ भन्ने कुरा प्रमाणित गरेर देखाउन पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई निर्देशन दिनु भयो ।
उहाँले मुलुकलाई समृद्ध बनाउने अभियानमा ढिला नगरी अघि बढन पनि सिंगो पार्टी पंक्ति लाग्नुपर्ने बेला आएको उल्लेख गर्नु भयो ।
एमालेले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई आ–आफनो कार्यक्षेत्रमा रहेर देश र जनताको सेवामा जुटन निर्देशन दिईसकेको छ ।