दार्जिलिङ । पश्चिम बंगाल राज्य सरकारले वंगाल भाषाको बाध्यकारी अध्ययनको व्यवस्था गरेपछि नेपालीभाषी भारतीयहरुको सघन बसोवास भएको दार्जीलीङ अशान्त भएको छ ।
बंगाल भाषाको बाध्यकारी अध्ययनको व्यवस्थाले करिब एकसय बर्ष पुरानो नेपालीभाषा र जातिको मुक्ति आन्दोलनमा अतिक्रमण भएको भन्दै गोर्खा जनमुक्ति मोर्चाले शुरु गरेको प्रतिरोध आन्दोलन सडक प्रदर्शनपछि आम हड्तालसम्म पुगेको मोर्चाले जनाएको छ ।
मोर्चाले मुख्यमन्त्री ममता बेनर्जी नेतृत्वको राज्य सरकारले नेपाली भाषामाथि अतिक्रमणको विरोधमा गोरखा जनमुक्ति मोर्चाले शुक्रबार दार्जीलीङमा गरेको बन्द कार्यक्रम सफल भएको मोर्चाले जनाएको छ ।

यसअघि मोर्चाले प्रतिवाद जुलुससहितका कार्यक्रम आयोजना गरेको थियो । विहीबार दार्जिलिङमा भएको राज्य सरकारको क्याविनेट बैठक बाहिर मोर्चाका कार्यकर्ताले प्रदर्शन गर्दा प्रहरी र मोर्चाका कार्यकर्ताविच झडप भएको थियो ।
मोर्चाले भनेको छ ‘भारतको आठौं अनुसूचिद्वारा मान्यताप्राप्त हाम्रो मातृभाषालाई अतिक्रमण गर्दै बंगला भाषा बाध्यतामूलक थोप्ने पश्चिम बंगाल सरकारको षड़यन्त्र जबसम्म पूर्णरूपले फिर्ता लिइँदैन तबसम्म हाम्रो सघंर्ष जारी रहनेछ ।’
बंगाली भाषालाई माध्यमिक तहसम्म अनिवार्य गरेको भन्दै गोर्खा जनमुक्ति मोर्चाले चलाएको आन्दोलन उग्र बनेपछि राज्य सरकारले त्यहाँ सेना परिचालन गरेको छ । गोर्खा जनमुक्ति मोर्चाका अनुसार राज्य सरकारले विगतको परम्परा तोड्दै नेपाली भाषी बाहुल्य क्षेत्रका माध्यमिक तहसम्मका विद्यालयमा बंगाली भाषाको पठन पाठन अनिवार्य गराउन भनेका कारण आफूहरु आन्दोलनमा उत्रनु परेको मोर्चाका नेता तथा कार्यकर्ताले बताएका छन् ।