काठमाण्डाैं । नेपालकाे ४०अाैं प्रधानमन्त्रीमा निर्वाचित हुनु भएका प्रधानमन्त्री शेरशहादुर देउवा २००३ साल जेठ ३१ गते डडेल्धुराको साविकको असीग्राम गाविस–५ रुवाखोलामा पिता श्रीप्रसाद देउवा र माता द्रौपदी देवी देउवाका जेठा छोराको रुपमा जन्मनु भएको थियो ।
२०२२ सालमा सुदूरपश्चिमाञ्चल विद्यार्थी संघको संस्थापक सदस्य भई प्रजातान्त्रिक आन्दोलनमा समर्पित हुँदै देउवाले आफ्नो राजनीतिक यात्राको सुरुवात गर्नु भएको थियो । देउवा नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघका संस्थापक सदस्य समेत हुनुहुन्छ ।
२०२३ सालमा गठित तरुण–सभाको अध्यक्ष भएर उहाँले नेतृत्वदायी भूमिका मार्फत आफ्ना राजनीतिक यात्रालाई अझै बलियो बनाउनु भयो ।
यस्तै २०२८ असोज १ गतेदेखि २०३६ फागुन २९ गतेसम्म नेपाल विद्यार्थी संघको अध्यक्ष भई नेपालको प्रजातान्त्रिक आन्दोलनमा विद्यार्थी फाँटको नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएका देउवा पहिलोपटक २०४८ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बन्नु भएको थियो । २०४८ देखि २०५१ सालसम्म गृहमन्त्रीको पद सम्हाल्न सिंहदरकार प्रवेश गर्नु भएका देउवा त्यसकाे ४ वर्ष पछि पहिलाे पटक प्रधानमन्त्री बन्नु भएकाे थियाे ।
देउवाको शिक्षा
शेरबहादुर देउवाले राजनीतिक शास्त्रमा स्नातकोत्तर अध्ययन गर्नु भएकाे छ भने व्यवस्थापनमा समेत स्नातकोत्तर गर्नु भएकाे छ । कानुन विषयमा देउवाले स्नातक तहको अध्ययन पुरा गर्नु भएकाे छ भने देउवा राजनीतिशास्त्रमा लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो समेत हुनु हुन्छ ।
देउवाको विदेश भ्रमण
देउवाले हालसम्म भारत, चीन, भुटान, माल्भ्दिस, श्रीलंका, थाइल्याण्ड, जापान, कतार, दक्षिण कोरिया, बेलायत, जर्मनी, नर्वे, फ्रान्स, स्वीट्जरल्यान्ड, ग्रीस, बेल्जियम, संयुक्त राज्य अमेरिका, कोलम्बिया, डेनमार्क, अस्ट्रेलिया, स्वीडेन लगायतका देश भ्रमण गर्नु भएकाे छ ।
जेल जीवन ९ वर्ष
राजनीतिको विभिन्न कालखण्डमा देउवाले ९ वर्ष जेलजीवन विताउनु भयाे । ४५ वर्षको उमेर आरजु राणासँग वैवाहिक बन्धनमा बाँधिएका देउवाको एक छोरा रहेका छन् ।