काठमाडौं । मुलुकको ४० औं प्रधानमन्त्रीका लागि मंगलबार निर्वाचन हुने पक्का भएको छ ।
सत्तारुढ काँग्रेस-माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष एमाले सहमतिमै प्रधानमन्त्री चयन गर्न सहमत भएपछि निर्बाचन हुने पक्का जस्तै भएको हो ।
सभामुख ओनसरी घर्तीको आह्वानमा आज बसेको प्रमुख तीन दलका शिर्ष नेताहरुको बैठकमा दलहरु सहमतिमै अघि बढन तयार भएका हुन् ।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई दिन छलफल गरेर सहमतिमै प्रधानमन्त्री चयन गर्न राख्नु भएको प्रस्तावमा काँग्रेस सभापति एवम् प्रधानमन्त्रीका उम्मेदवार शेरबहादुर देउवाले सहमति जनाउनुभएको थियो ।
बैठकपछि संचारकर्मीसँग कुरा गर्दै काँग्रेस सभापति एवम् प्रधानमन्त्रीका उम्मेदवार देउवाले विपक्ष दलका नेता ओलीले सहमतिका लागि २ दिनको समय मागेकाले प्रधानमन्त्रीको निर्वाचन दुई दिन पछि सारिएको बताउनु भयो ।
प्रमुख प्रतिपक्ष एमालेका वरिष्ठ नेता झलनाथ खनालले दुई दिन घनिभूत छलफल गरी सहमतिमै नयाँ प्रधानमन्त्री चयन गर्न आफूहरुबीच सहमति भएको उल्लेख गर्नु भयो । उहाँले दलीय सहमति अनुसार अघि बढने आफूको प्रस्ताव काँग्रेस र माओवादी केन्द्रले पनि स्विकार गरेको जानकारी दिनु भयो ।
माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले सहमतिमै नयाँ प्रधानमन्त्री चयन गर्न प्रमुख दलहरु सहमत भएको बताउनु भयो । उहाँले द्धन्द्ध बढाएर अघि नबढने गरी प्रमुख तीन दलबीच सहमति हुने दावीसमेत गर्नु भयो ।
एमालेले सत्तारुढ काँग्रेस÷माओवादी केन्द्रले पेलेरै प्रधानमन्त्री चयन गर्न लागेको भन्दै आपत्ति जनाउँदै आएको थियो । भरतपुर महानगरपालिकामा पुन मतगणना गर्न माग गर्दै एमालेले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।
आज बिहान ११ बजे बस्न नसकेको बैठक तिन बजे सारिएपनि सहमति हुन सकेको थिएन् । प्रधानमन्त्रीमा काँग्रेस सभापति देउवाको मात्रै उम्मेदवारी परेको छ । संसदले दलहरुको सहमतिमै आगामी मंगलबार दिउँसो १ बजे प्रधानमन्त्रीको निर्वाचन कार्यसूचि तय गरेको छ ।