विर्तामोड । विर्तामोडस्थित गिरीबन्धु टि स्टेट चिया बगानका मजदुरले स्थानीय तहको चुनाव बहिस्कार गर्ने घोषणा गरेका छन् । झापाको मध्य विर्तामोडमा रहेको उनीहरुको आवासमा अहिलेसम्म विजुली नपुर्याइदिएको आक्रोस पोख्दै उनीहरुले आफ्नो ठाउँमा हुने स्थानीय तहको निर्वाचनमा भाग नै नलिने घोषणा गरेका हुन्।
गिरीबन्धु टि स्टेटको पूर्व पश्चिम राजमार्ग उत्तर पट्टिका आवासमा करीब तीनसय मजदुरको बसोबास छ। कोही मजदुर बुढा पाका पनि भइसके। तर उनीहरुको आवासमा अहिलेसम्म विजुली पुर्याइदिने कसैले चासो नदेखाएको उनीहरुको भनाइ छ।
सोही चिया बगानमा बीस बर्षदेखि कार्यरत मजदुर सीता ढकालले निम्न वर्गीय मजदुरका मागमा कोही पनि संवेदनशील नबनेको आरोप लगाउनुभयो। उहाँले यसअघिका निर्वाचनमा पनि सांसदका उम्मेद्वारले गरेका बाचा पूरा नगरिदिएकाले यसपालीको निर्वाचनमा आफूहरु सहभागी नै नहुने बताउनुभयो। ढकाल पनि सोही मजदुर आवासमा बसोबास गर्नुहुन्छ। उहाँले भन्नुभयो, ‘अहिले पनि हामीकहाँ भोट माग्न नआएका होइनन्। तर हामीलाई विजुली पनि दिन नसक्नेले हामीकहाँ भोट माग्न आउनु पर्दैन भन्ने गरेका छौं।’
देशका कुना कुनामा विजुली पुगेको तर आफूहरु सुगम स्थानमा बसे पनि विजुली बाल्न नपाएकोमा नेताप्रति वितृष्णा जागेको ढकालको भनाइ छ। घरको वरिपरि झार जंगल भएकाले राति बाहिर निस्कनु पर्दा सर्पले डस्ने डर भएकाले आफूहरुलाई विजुली चाहिएको उहाँले बताउनुभयो। ‘हामीले आश गर्दा गर्दै यत्रो बर्ष वित्यो । अब के आश गर्नु ? बरु भोट कसैलाई पनि नदिने,’ उहाँका अनुहारमा निराशा झल्किन्थ्यो।
३६ बर्ष अघिदेखि सोही चिया बगानमा कार्यरत मजदुर बलराम बिसुंखेको त्यही पीडा छ। उहाँले पनि विजुली विना उक्त बगानमा कार्यरत मजदुरले पीडा खेप्नु परिरहेको बताउनुभयो। उहाँले विजुली आपूर्ति मात्र नभएर पाउँदै आएको सुविधासमेत कटौती हुन थालेकोले मजदुरलाई पीडा भएको बताउनुभयो।
बिसुंखेले भन्नुभयो, ‘यस अघिको निर्वाचनमा मत जितेर गएकाले मजदुरको समस्या हेर्नुपर्छ कि पर्दैन ? रेलको डब्बा जस्तो क्वाटरमा विजुली नहुँदा मजदुरले कसरी जिन्दगी चलाउँछ ?’
अर्की मजदुर शान्तिदेवी देवानले पनि सबै मजदुरको सल्लाह अनुसार आफूले पनि स्थानीय तहको निर्वाचनमा कसैलाई भोट नदिने निधो गरेको बताउनुभयो। उज्यालोमा बस्न नपाएपछि आफूहरुलाई कसैको विश्वास नलागेको देवानले बताउनुभयो।
अर्की मजदुर चन्द्रकला कोइरालाले त झन् नेताको अनुहार नै देख्नु नपरोस् भनेर आक्रोस पोख्नुभयो। ‘नेता सेता हामी जान्दैनौं। सबै उस्तै हुन्। यहाँ अनुहार देखाउन नआए हुन्छ,’ कोइरालाको आक्रोस थियो।