झापा । एमालेभित्रको गुटगत समस्या झापामा छताछुल्ल भएको छ । हल्दिबारी गाउँपालिकाको अध्यक्षमा माधव नेपाल पक्षकी मञ्जु सिटौलालाई उम्मेदवारी दिइएपछि त्यहाँका कार्यकर्ताले गुटबन्धीका कारण कमजोर उम्मदवार छानिएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
आइतबार बिर्तामोडस्थित एमालेको पार्टी कार्यालयमा भेला भएका ७ सय पार्टी सदस्यले सो निर्णयको विरोध जनाएका छन् । त्यस क्षेत्रबाट आएका ७ सय पार्टी सदस्यसहित दुई हजार कार्यकर्ताले पार्टी कार्यालय बाहिर रहेको ‘होडिङ बोर्ड’मा टालिएको उम्मेदवारको फोटोसहितको नामावलीको फेल्क्स प्रिन्ट पनि च्यातेका छन् ।
‘हल्दिबारी क्षेत्रमा प्रमुख पदका लागि मञ्जु कमजोर उम्मेदवार हुन्’, एक जना स्थानीय नेताले भने, ‘एमालेले यहाँ मोहन रेग्मीलाई उठाउनु पथ्र्यों ।’ रेग्मी केपी ओली पक्षका हुन् ।
गाउँमा उनीको राम्रो पकड रहेको स्थानीय बताउँछन् । स्थानीय भन्छन्, ‘रेग्मीलाई अध्यक्ष र मञ्जुलाई उपाध्यक्षमा उठाएको भए जित एमालेको पक्षमा हुन्थ्यो । तर, त्यसो गरिएन ।’
स्थानीयको एक समूहले राप्रपासँग तालमेल गरेर विपक्षी उम्मेदवारलाई जिताउन खेल भएको समेत दावी गरेका छन् ।
‘सिटौला भनेको प्रमुख पदका लागि कमजोर उम्मेदवार हुन्’, एक स्थानीयले भने, ‘उनलाई उठाउँदा विपक्षीलाई फाइदा हुन्छ ।’
यस क्षेत्रमा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनका भाई रविन्द्र पनि अध्यक्षका लागि चुनावी मैदानमा होमिएका छन् । एक थरी कार्यकर्ता राप्रपालाई सघाउने उद्देश्यले यहाँ कमजोर उम्मेदवार छानिएको बताउँछन् ।
यसअघि त्यहाँका कार्यकर्ताले पार्टीलाई उम्मेदवारको नाम सच्याउन मौखिक आग्रह गरेको स्रोतले बतायो । शनिबार भने लिखित रुपमा एमालेलाई निर्णय सच्चाउन भनिएको छ ।