काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं निगजढ द्रुतमार्गले हिमाल र पहाडलाई मधेसी मनसँग जोड्ने बताएका छन् ।
बाराको निजगढमा आइतबार बिहान आयोजित एक समारोहबीच प्रधानमन्त्री प्रचण्डले द्रुतमार्ग निर्माणको शिलान्यास गरेका हुन् । सरकारले द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ र ५ वर्षमा निर्माण पुरा गर्ने लक्ष्य छ ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले द्रुतमार्ग दुरगामी महत्वको भएको र यसले देशको भाग्य र भविश्य निर्धारण गर्ने बताए ।
नेपाली सेनालाई आफूले जत्ति अरुले शायदै बुझेको होला भन्दै प्रधानमन्त्री प्रचण्डले सेनाको भूमिका र महत्व बढोस् भनेर नै द्रुतमार्ग निर्माणको जिम्मा दिएको बताए । द्रुतमार्ग निर्माणपछि सरकारले सेनालाई विशेष रुपमा पुरस्कृत गर्ने उनले बताए ।
मधेस विनाको काठमाडौं र काठमाडौं विनाको मधेस सम्भव नभएको भन्दै उनले भने, ‘द्रुतमार्गले हिमाल र पहाडलाई मधेसी मनसँग जोड्छ र भेदहरु हटाउँछ ।’
द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिन भूमिका खेलेको भन्दै उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र वनमन्त्री शंकर भण्डरीको प्रशंसा गरे ।
आफ्नो सरकारले लोडसेडिङ अन्त्य गर्दै देशलाई उज्यालो तर्फ लगेको र ७.५ प्रतिशतको आर्थिक बृद्धिद्धर हालिस गरेको भन्दै उनले भने, ‘चमत्कार गर्न सकिँदो रहेछ ।’
अब आउने सरकारले ७.५ प्रतिशतको आर्थिक बृद्धिद्धर घटाए लाजमर्दो हुने समेत उनले बताए ।