काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार पदबाट राजीनामा दिने भएका छन्। दिउँसो १ बजे बस्ने संसद् बैठकमा विशेष सम्बोधन गरी राजीनामा दिन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रचण्डले सत्तासाझेदार दल कांग्रेससँगको पूर्वसहमतिअनुसार मंगलबार नै राजीनामा दिन लागेका हुन्। यसअघि सोमबार बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकमा प्रधानमन्त्रीले आफ्नो राजीनामाको विषयमा नेताहरूलाई जानकारी गराएका थिए।
माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले पनि प्रधानमन्त्रीको राजीनामाको विषय अनुमोदन गरिसकेको छ। ‘कांग्रेससँगको सहमतिका आधारमा प्रधानमन्त्रीले मंगलबार संसद्को बैठकलाई विशेष सम्बोधन गर्दै राजीनामा दिन लागेको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।
‘सहमति पालना गर्दै प्रधानमन्त्रीले राजीनामा दिँदै हुनुुहुन्छ’, उनले भनिन्। प्रचण्ड गतवर्ष साउन १९ मा कांग्रेससँगको सहकार्यमा प्रधानमन्त्री बनेका थिए। त्यसबेला स्थानीय निर्वाचन माओवादीको नेतृत्वमा र प्रदेश र केन्द्रको निर्वाचन कांग्रेस नेतृत्वले गराउने गरी आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी भएको थियो।
(थाहा खबरबाट)