काठमाडौं । काठमाडौं महानगरपालिकाको निर्वाचनमा बदर मतको संख्या उल्लेख्य देखिएको छ।
अहिलेसम्म १३० मत गन्दा मेयरमा मात्र १३ मत बदर भएको मतगणनामा सहभागी एक प्रतिनिधिले जानकारी दिए। यो भनेको १० प्रतिशत हुन आउँछ।
उपमेयरको बदर मत अनुपात अझ धेरै छ। यसमा १३० मत गन्दा २४ मत बदर भएको ती प्रतिनिधिले जानकारी दिए। यो झन्डै २० प्रतिशत हो।
मतपत्रको आकार ठूलो र एकैचोटि सातवटा मत दिनुपर्ने हुँदा अप्ठ्यारो भएको मतदाताहरूले गुनासो गरेका छन्। बदर मतको संख्या बढी हुनुको कारण यो पनि एउटा हो।
उपमेयरमा राजनीतिक दलहरूको आपसी गठवन्धनले पनि मतदाता झुक्किएका छन्। काठमाडौंमा एमाले र राप्रपाले आपसी तालमेल गरेका छन्। जसअनुसार मेयरमा एमाले र उपमेयरमा राप्रपा उम्मेदवारलाई एकअर्काले समर्थन गरेका छन्। उपमेयरमा एमालेलाई जाने मत बदर हुन्छ।
चुनाव प्रचार क्रममा कतिपय ठाउँमा दल विशेषले नै मतदाता नझुक्किउन् भनेर एउटै चिह्नमा छाप लगाउन भनेका थिए। उम्मेदवार नभएको चिह्नमा मत हाल्दा बदर हुन्छ।