काठमाडौं । मतगणना सुरु भएका तीन महानगरपालिकामा अहिलेसम्मको गणनाअनुसार तीनैवटामा नेकपा एमालेले अग्रता लिएको छ।
पहिलो चरणको निर्वाचनमा परेका चार महानगरपालिकामध्ये काठमाडौं, ललितपुर र पोखरामा मतगणना सुरु भइसकेको छ। भरतपुरमा भने मतपत्र कसरी गन्ने भन्ने विषयमा विवाद भएपछि गणना सुरु हुन सकेको थिएन। यहाँ छिट्टै गणना सुरु हुँदैछ।
पछिल्लो परिणामअनुसार काठमाडौंमा एमालेका विद्यासुन्दर शाक्यले आफ्ना प्रतिद्वन्द्वीहरूलाई उछिनिरहेका छन्। यहाँ एमालेको सबभन्दा बढी प्रतिस्पर्धा कांग्रेससँग देखिएको छ। अर्को प्रमुख माओवादी केन्द्र भने काठमाडौं र ललितपुरमा निकै पछाडि देखिएको छ। पोखरामा भने कांग्रेस र माओवादीको गठवन्धनले पनि एमालेलाई उछिन्न सकेको छैन।
वडा नम्बर १ बाट सुरु भएको गणनामा शाक्यले अहिलेसम्म १७ मत पाएको छ भने उनलाई पछ्याइरहेका कांग्रेसका राजुराज जोशीले १४ मत ल्याएका छन्। यहाँ विवेकशील नेपाली दल र साझा पार्टीले पनि राम्रो मत ल्याइरहेको छ। विवेकशीलले १० मत ल्याएको छ भने साझाको खातामा ६ मत परेको छ। माओवादी केन्द्र र नयाँशक्तिले २–२ मत पाएका छन्।
ललितपुरमा पनि एमालेका मेयर उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १ हजार ७४ मत ल्याएका छन्। यहाँ पनि दोस्रो स्थानमा कांग्रेस नै छ। यहाँ कांग्रेसका चिरीबाबु महर्जनको भागमा ९ सय ५१ मत परेको छ। ललितपुरमा साझा पार्टीले १ सय ३६ मत ल्याएको छ।
त्यस्तै, पोखरा महानगरपालिकामा एमालेका मानबहादुर जिसीले ७१ मत ल्याएर अग्रता लिएका छन्। यहाँ केही बेरअघि मात्र मतगणना सुरु भएको हो। उनलाई नेपाली कांग्रेसका रामजी कुँवरले ४६ मतसहित पछ्याइरहेका छन्। सेतोपाटीबाट