काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणअन्तर्गत आइतबार हुने ऐतिहासिक निर्वाचनमा सहभागी भई मतदान गर्न समाजका सबै वर्ग, तह र समुदायका मतदातालाई आह्वान गरेको छ ।
निर्वाचन आयोगको मिडिया सेन्टरमा आज आयोजित विशेष पत्रकारसम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आइतबार हुने स्थानीय तहको निर्वाचनको भरपर्दाे सुरक्षा व्यवस्थासहित सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो, “तीनवटा प्रदेशका ३४ जिल्ला मातहत २८३ स्थानीय तहका ६ हजार ६४२ मतदान केन्द्रमा मतदान सामग्रीसहित मतदान अधिकृत र सुरक्षाकर्मी सम्बन्धित मतदान केन्द्रमा पुगेर मतदानका लागि आवश्यक तयारी पूरा गरिसक्नु भएको छ ।”
प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो, “सुरक्षाको भरपर्दो व्यवस्था गरिएकाले मतदानमा ढुक्क भएर सहभागी भई आफूले रोजेको उम्मेदवारलाई मतदान गर्न निर्वाचन आयोगका तर्फबाट सबै मतदाता महानुभावसँग हार्दिक अपिल गर्दछु ।”
“जनप्रतिनिधिहरूले लेखेको संविधान कार्यान्वयन गर्ने क्रममा मतदानमा सहभागी हुँदैछौँ, मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछिको यो पहिलो स्थानीय तहको निर्वाचनले जनताको सुख–दुःख हेर्ने घर छेउको सरकारको नेतृत्व गर्ने जनप्रतिनिधिहरू निर्वाचित गर्नेछ”, प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो ।
अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामीलाई मतदानमा प्राथमिकता दिन पनि आयोगले सुझाव दिएको छ ।
दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफैँ मत सङ्केत गर्न नसकेमा एकाघरको परिवारको सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर वा मतदान अधिकृतको सहयोगमा मत सङ्केत गर्ने व्यवस्था आयोगले मिलाएको छ ।
स्थानीय तहको पहिलो चरणको निर्वाचनमा १६० महिला र १६९ पुरुष गरी ३२९ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेको आयोगले जनाएको छ । पहिलो चरणको निर्वाचनमा ४९ लाख ५६ हजार ९२५ मतदाता मतदान गर्दै छन् ।