काठमाण्डाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको ऐतिहासिक चुनावमा सक्रिय रुपमा भाग लिई आफ्नो सार्वभौम मताधिकारको प्रयोग गर्न सबै मतदातालाई अपिल गर्नुभएको छ ।
शान्ति सुरक्षाको दृष्टिले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले दरिलो र भरपर्दो सुरक्षा प्रबन्ध मिलाएको भन्दै प्रधानमन्त्री दाहालले भय र संकोच विना निर्धक्क भई आफुले चाहेका उम्मेदवारहरुलाई मत खसाली ऐतिहासिक अवसरको सदुपयोग गर्न सबै मतदातालाई अनुरोध गर्नुभएको हो ।
शनिबार अपरान्ह अपिल जारी गर्दै प्रधानमन्त्री दाहालले भोलि केवल मतदानको दिन मात्र नभई नेपाली लोकतान्त्रिक इतिहासको महाउत्सवको दिन पनि रहेको भन्दै सबैलाई उत्साहका साथ सहभागी हुन आग्रह गर्नुभएको छ ।
पहिलो चोटि नेपालको संविधानले नेपालको सार्वभौम अधिकार नेपाली जनतामा निहित गरेको तथा लोकतन्त्रमा जनताले आफ्नो सार्वभौम अधिकारको प्रयोग गर्ने माध्यम नै निर्वाचन भएको भन्दै आफ्नो निर्णायक शक्तिको प्रयोग चुनाव मार्फत् गर्न पनि उहाले सबैलाई आग्रह गर्नुभएको छ ।
जारी अपिलमा प्रधानमन्त्री दाहालले नेपाली जनताले प्राप्त गरेको सार्वभौम अधिकारको प्रयोग गर्ने पहिलो अवसरका रुपमा रहेको स्थानीय तहको निर्वाचन शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउने कडीका रुपमा पनि रहेको भन्दै लामो समयदेखि जरा गाडेको एकात्मक र केन्द्रीकृत राज्यसत्ताको अन्त्य गरी संघात्मक शासन व्यवस्थाको स्थापनाका लागि एउटा कोशेढुंगाका सावित हुने उल्लेख गर्नुभएको छ ।
चुनावबाटै सिंहदरबार केन्द्रित अधिकार र स्रोत साधनलाई जनताको घर आँगनसम्म पु¥याउनका लागि ढोका खुला हुने विश्वास पनि उहाले व्यक्त गर्नुभएको छ ।