विर्तामोड । उच्च क्षेत्रमा पालिने गरेका चौंरी बर्षेनी ठूलो संख्यामा मर्ने गरेका छन् । किसानहरुले घाँसको अभावले चौंरीहरु मर्ने गरेको बताएका छन् ।
चौंरीको चरन क्षेत्र व्यवस्थित हुन नसक्दा चौंरी किसानका धेरै चौंरी बर्षेनी मर्ने गरेको किसानहरुको दुखेसो छ ।
‘चौंरीलाई घाँस नभइ हुँदैन । चर्ने क्षेत्र अतिक्रमण हुँदै गइरहेको छ,’ पाँचथरका एकजना चौंरी किसान दण्डु लामाले भने, ‘कसैको बर्षमा १०÷१५ वटा मर्छन् कसैका त ४०÷५० वटा नै चौंरी मर्ने गरेका छन् ।’
तर सरकारबाट खर्क नीति पास भइसकेकाले अब पाँचथरमा पनि खर्क व्यवस्थित गर्ने र चौंरी गोठ सुधारका कार्यक्रम लागु हुने संभावना रहेको राष्ट्रिय चरन तथा पशु अहारा केन्द्रका वरिष्ठ अधिकृत शंकर शाहले बताए ।
त्यहाँका किसानहरुले चौंरीको दुधका परिकार बनाएर अन्तरराष्ट्रिय बजारमा समेत बिक्री गर्ने गरेका छन् ।
तर लोप हुँदै गरेका चौंरीको दृश्य देखाएर पनि पाँचथर उच्च पहाडि क्षेत्रका बासिन्दाले आम्दानीको श्रोत बढाउन थालेका छन् ।
करीब तीन हजार पाँच सय मिटरको उचाईमा रहेको फालेलुङ चार राते आसपासका क्षेत्रका बासिन्दाको मुख्य आम्दानीको श्रोत चौंरीबाट बनेका परिकार मात्र नभएर अब चौंरीकै दृश्यसमेत आम्दानीको श्रोत बन्न पुगेको छ ।
उक्त क्षेत्रमा भारत तथा दार्जीलिङ घुम्न आउने तेस्रा देशका पर्यटकहरु समेत अचेल फालेलुङ आउन थालेका छन् ।
भारतका उच्च पहाडी क्षेत्रमा चौंरी अत्यन्तै कम पाइने तर नेपालका उच्च पहाडी क्षेत्रमा चौंरी प्रशस्त पाइने भएकाले पनि भारत तथा तेस्रा देशहरुका पर्यटकहरुका लागि फालेलुङ रोजाइ बन्न थालेको चौंरी किसानहरुको भनाइ छ ।
एकजना चौंरी किसान देबी नेपालले भने, ‘यहाँ चौंरी पालनको धेरै ठूलो संभावना छ । हामीले चौंरीको दुध, घिउ, छुर्पी तथा चीज मात्र नभएर अहिले चौंरीको दृश्य समेत बेच्न थालेका हौं ।’