आज शनिवार विर्तामोड झापाबाट प्रकाशित हुने प्रतिदिन दैनिक अखबारले यातायात व्यवस्था कार्यालय मेचीको अस्त व्यस्त कार्यशैली र सरकारी कार्यालय भित्रै विचौलियाले सेवाग्राहीबाट पैसा असुल्ने गरेको समाचार प्रकाशित गर्यो ।
केही दिन अघि म आफैं नापी कार्यालय भद्रपुरमा सेवाग्राही बनेर पुगेर त्यहाँको स्थिति र सेवाग्राहीले पाएको दुःखका बारेमा आफू कार्यरत रेडियो र अखबारमा समाचार प्रशारण तथा प्रकाशन गरेको थिएँ ।
जुन बेला सर्वसाधारण ति कार्यालयहरुमा सेवाका लागि जान्छन्, दुःख पाउँछन् । पैसा विना काम हुँदैन । जसले पैसा खुवाउन सक्दैन, उसको काम नै हुँदैन वा कुनै कर्मचारीले उसलाई सोध्दैन ।
यो मैले मात्र लेखेको विषय होइन । त्यहाँ सेवाका लागि जो सर्वसाधारण गएका छन् सबैले बताइदिइहाल्छन् ।
नापी कार्यालय भद्रपुरमा विहानको दस बज्न पाउँदैन कर्मचारी भन्दा सर्वसाधारणका गोजीका पैसा कति झार्न सकिन्छ भनेर विहानदेखि मानसिकता तयार गरेर आएका विचौलिएको विगविगी हुन्छ ।
कुनै व्यक्ति वा सेवाग्राही कार्यालयको गेट भित्र छिर्न पाएको हुँदैन पछि लाग्न थाल्छन् । कार्यालयका कर्मचारी रमिता हेर्छन् ।
नक्साका लागि चाहिने ट्रेस पेपर राजश्व तिरेपछि सेवाग्राहीले कार्यालयबाटै पाउनुपर्ने हो । तर कार्यालयको पछाडिपट्टिको घुम्ती पसलमा किन्न पठाइन्छ । कर्मचारीज्यूहरु, सरकारले त्यही भनेको छ, सेवाग्राहीलाई त्यहाँ किन्न पठाउनु भनेर ?
अनि आफ्नो कार्यालय भित्रै पैसाको लेनदेन वा बार्गेनिङ चलिरहँदा कर्मचारी तथा कार्यालय प्रमुख मुख थुनेर बस्ने परिपाटीले कर्मचारी नियतमाथि शंका नगरेर कसको नियतमाथि शंका गर्ने सर्वसाधारणले ?
केही महिना अघि यातायात व्यवस्था कार्यालय मेचीका कार्यालय प्रमुखसंग मोटरसाइकलको लाइसेन्स कहिले खुलाउनुहुन्छ भनेर सोध्न जाँदा त्यहाँको अस्तव्यस्तता सुधार गर्ने बारेमा सुझाव दिएको थिएँ ।
कार्यालय प्रमुखले ‘तपाईंको सम्पादक मेरो सहपाठी हो’ भनेर मलाई सुनाउनु भएको थियो । उहाँको आशय के हो मलाई थाहा भएन । तर अनियमितता र कार्यालय भित्रै अराजकताको विषय उठान गर्ने विषय मेरो कलम चलाइको पहिलो प्राथमिक्तामा पर्छ भन्ने कुरा उहाँले राम्ररी बुझे हुन्छ ।
सोही यथार्थ चित्रण आज प्रतिदिनले गरिदियो । कुनै व्यक्तिलाई सोधौं त्यहाँ सेवा लिन गएका कि पैसा विना काम हुँदैन नभन्ने मान्छे भेटियो भने म सार्वजनिक रुपमा आत्मालोचना गर्छु । कर्मचारीका आफन्त र वरपर कुदने, सार्वजनिक पद धारण गर्ने व्यक्तिको काम भएको होला । तर सर्वसाधारणको काम पैसा विना भएको मैले सुनेको छैन ।
सिडिओ साब, तपाईंलाई यि उल्लेखित कुराहरु आजसम्म थाह थिएन भने एकपल्ट ति कार्यालयहरुमा जानुहोस् । सर्वसाधारणले दुःख पाएको हेर्नुहोस् ।
ति कार्यालयहरु सुधार गर्ने र नियमन गर्ने तपाईंको कार्याधिकार भित्र पर्छ पर्दैन मलाई थाह छैन । तर जनताले सिडिओ भनेको जिल्लाको ठूलो मान्छे हो भन्ने बुझेका छन् । अन्यायमा परेका जनता तपाईंकहाँ न्याय माग्न आउँछन् । कम्तीमा मालपोत, नापी र यातायात व्यवस्था कार्यालयलाई सुधार गरेर जनतालाई न्याय दिलाउनुहोस् । तपाईं निदाउनु भएको त छैन नि !
1 Comment
1dam sahi kura,aawaj bihin haruko patrakarita ka lagi muri muri danyabad…….