काठमाडौं । निर्वाचनमा भाग नलिने घोषणा गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा अन्ततः निर्वाचनमा भाग लिने भएको छ । सरकारसँग शुक्रबार बेलुका भएको वार्तामा नयाँ संशोधन विधेयक पनि परिमार्जन गर्ने सहमति भएपछि मोर्चा पनि निर्वाचनमा भाग लिने भएको हो ।
संसदमा पेश गरिएको नयाँ संशोधन विधेयक परिमार्जनसहित पेश गर्ने र संशोधन विधेयकको ड्राफ्टलाई शनिवार अन्तिम रुप दिने सरकार र मोर्चाबीच सहमति भएको छ ।
यो सहमतिसँगै स्थानीय तहको निर्वाचन सार्ने अथवा दुई चरणमा गर्ने भन्ने पनि शनिवार नै निर्णय हुने भएको छ । शुक्रबार बेलुका बालुवाटारमा बसेको सरकार मोर्चाबीचको दोस्रो वार्तामा संशोधन विधेयक परिमार्जनका लागि चार सदस्य समिति गठन गरिएको छ ।
समितिमा मोर्चाको तर्फबाट संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र राष्ट्रिय जनता पार्टीबाट लक्ष्मण लाल कर्ण तथा सरकारको तर्फबाट कांग्रेस नेता कृष्णप्रसाद सिटौला र बुद्धिमान तामाङ सदस्य रहेका छन् ।
संशोधन विधेयकमा के के परिमार्जन गर्ने भन्ने कुरा शनिवार नै अन्तिम नै अन्तिम ड्राफ्ट तयार गर्ने सरकार–मोर्चाबीच सहमति भएको छ ।
सरकार र मोर्चाबीच शुक्रबार विहान पनि वार्ता भएको थियो । मोर्चासँगको वार्तापछि पुनः सत्तारूढ दलको बैठक बसेपछि पुनः बेलुका मोर्चासँग वार्ता भएको हो ।