विर्तामोड । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानिय तहको निर्वाचन हुन नदिन ठुलो षड्यन्त्रको सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गर्नुभएको छ ।
झापाको बिर्तामोडमा माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग वाईसिएल र अनेरास्ववियू क्रान्तिकारी झापाको संयुक्त जिल्ला सम्मेलनको उद्घाटन समारोह तथा वृहत आम सभामा बोल्दै प्रधानमन्त्री दाहालले पहिलो संविधान सभाले सहमतिमै संविधान जारी गर्न लाग्दा त्यसलाई रोक्न ठुलो षडयन्त्र भएको स्मरण गर्दै स्थानीय तहको निर्वाचन रोक्न पनि त्यस्तै खालको षड्यन्त्र भइरहेको बताउनुभयो ।
कुन पार्टी जित्छ वा हार्छ भन्ने कुरा गौण भएको भन्दै प्रधानमन्त्री दाहालले आफ्नो पार्टीले जिते वा हारे पनि देश र जनताले जित्नका लागि चुनाव हुनै पर्ने धारणा राख्नुभयो ।
प्रधानमन्त्री दाहालले मधेशी मार्चासँगको सल्लाहमै दोश्रो संविधान संसोधन प्रस्ताव ल्याएको भएपनि मोर्चाले त्यो पनि मान्दिन भन्नु आश्चर्यजनक भएको बताउनुभयो ।
उहाँले मोर्चाका लागि अहिलेको सरकार जतिको लचिलो सरकार कहिलै नआउने भन्दै यो अवस्थामा पनि सहमतीमा नआए मोर्चाका लागि ऐतिहासिक गल्ति हुने टिप्पणी गर्नुभयो ।
प्रधानमन्त्री दाहालले दोश्रो संविधानसभाबाट पनि संविधान नबन्ने अवस्था देखे पछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री र काँग्रेसका तत्कालिन सभापती सुसिल कोईरालालाई राष्ट्रपती बनाउने प्रतिबद्धता जनाएर आफूले दुवैलाई सहमतीमा ल्याएको दाबी गर्नुभयो ।
पहिलो संविधान सभाको चुनावमा पाएको जित पछि आफुहरुमा अंहकार बढेकाले दोश्रो संविधान सभा चुनावमा जनताले सजाय दिएको स्विकार्दै प्रधानमन्त्री दाहाले माओवादी सच्चिईसकेकाले अब माओवादीलाई जिताउन झापाली जनतालाई आग्रह गर्नुभयो ।
उहाँले गणतन्त्र, संघियता लगायतका उपलब्धि माओवादीले नै ल्याएकाले अन्य पार्टीलाई जिताउँदा बाघको छालामा स्यालको रजाई जस्तै हुने भन्दै माओवादीलाई जिताउन आग्रह गर्नुभयो ।
सिंहदरबारको अधिकार गाऊँगाऊँमा ल्याउन पहिलो पटक स्थानिय तहको चुनाव हुन लागेकाले सफल पार्न सरकारले सुरक्षा लगायतका सबै तयारी गरीरहेको प्रधानमन्त्री दाहालको भनाई थियो ।
कार्यक्रममा बोल्दै सूचना एवम सञ्चारमन्त्री सुरेन्द्र कुमार कार्कीले २०७० सालको दोश्रो संविधानसभाको चुनाव पछि माओवादीले आफ्नो गल्ती बुझेर सच्चिएको र सबै माओवादी एक ठाऊँमा उभिएकाले जनताले माओवादीलाई जिताउने दाबी गर्नुभयो ।
पूर्व अर्थमन्त्री बर्षमान पुन अनन्तले ६ प्रतिशत भन्दा माथीको आर्थीक वृद्धि, लोडसेडिगं अन्त्य जस्ता उपलब्धि अहिलेको सरकारले गरेको भन्दै सरकारको प्रशंसा गर्नुभयो । उहाँले अहिलेको स्थानिय तहले विश्वमा सबैभन्दा धेरै अधिकार जनतालाई दिएको बताउनुभयो ।
वाईसिएलका संयोजक रामप्रसाद सापकोटा, पोलिटब्युरो सदस्य धर्मशिला चापागाई, प्रदेश नम्बर १ ईञ्चार्ज गोपाल किराँती लगायतले सम्बोधन गर्नुभएको थियो ।