दमक । कांग्रेस सभापति शेरबहादुर देउवाले मधेशी मोर्चाले निर्वाचनमा भाग लिने प्रतिवद्धता व्यक्त गरे दुई चरणमा निर्वाचन गर्न सकिने बताउनु भएको छ ।
उहाँले मोर्चा निर्वाचनमा सहभागी हुने पक्का भए दुई चरणमा निर्वाचन गर्न कांग्रेस तयार रहेको बताउनुभयो । झापाको लखनपुर स्थित आदिबासी जनजाति रंगशालामा मंगलबार आयोजित प्रदेश नम्बर एकको चुनावी सभालाई संबोधन गर्दै देउवाले मधेशकै हितका लागि संबिधान संशोधनको प्रस्ताव ल्याएकोले स्थानीय तहको चुनाव सहभागि हुन मधेशी मोर्चालाई आग्रह समेत गर्नुभयो ।
मधेशको समस्या समाधान गर्न कांग्रेसले अग्रसरता लिईरहेको बताउदै निश्चिन्त भएर चुनावमा भाग लिन अपिल गर्दै भन्नुभयो– ‘तपाईहरुकै माग लाई ध्यानमा राखेर संशोधनको प्रस्ताव ल्याएको छौ । अझै पनि आवश्यक छलफल गरेर अघि बढ्न चाहान्छौ ।’
पूर्वप्रधानमन्त्री देउवाले पहाड र मधेश बिच बिखण्डन गराउने तत्वहरु अझै पनि सक्रियताका साथ लागेको बताउदै राष्ट्रिय एकतामा भाँजो हाल्ने काम नर्गन सचेत गराउनुभयो ।
सभालाई संबोधन गर्दै उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले निर्वाचनमा एमालेले नै बाधा पुर्याएको आरोप लगाउनुभयो । कुनै कुराको सल्लाह मागेमा एमालेले हुन्न मात्र भन्ने गरेको उहाले बताउनुभयो ।
निधिले भन्नुभयो– ‘एमालेको डिक्सनरीमा हुन्न मात्र छ । केही गरौ भन्यो खाली हुन्न मात्र भन्छ ।’ संघियता, धर्मनिरपेक्षता, राष्ट्रियताका बारेमा एमालेको स्पष्ट प्रतिबद्धता नरहेको उहाको भनाई थियो ।
निधिले अहिले स्थानीय तहको निर्वाचनका बिषयमा मधेशी मोर्चाले पनि बखेडा झिकिरहे पनि संबिधान संशोधन भए चुनावमा सहभागि हुन्छौ भनिरहेकोले आफु आशाबादी रहेको बताउनुभयो ।
चुनावी सभामा कांग्रेसका शिर्ष नेताहरु रामचन्द्र पौड्याल , महामन्त्री डा. शसांक कोईराला, डा. रामशरण महत, डा. मिनेन्द्र रिजाल , शेखर कोईराला लगायत सहभागी थिए । पार्टी सभापति देउवा हेलिकप्टर चार्टर गरेर सभालाई संबोधन गर्न आउनु भएको थियो ।