काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष तथा प्रबुद्ध नेता डा. प्रकाशचन्द्र लोहनीले पार्टी अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि दर्शाउदै पार्टीसँगको आफ्नो कुनै सम्बन्ध नरहेको घोषणा गरेका छन्।
डा. लोहनीले बिहीबार पार्टी अध्यक्ष थापालाई पठाएको पत्रमा डा. लोहनीले भनेका छन्, ‘म आजको मितिबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको कुनै पनि तहको सदस्य नरहेको तपाईंलाई जानकारी गराउदछु ।’
उनले थापामाथि पार्टी एकता महाधिवेशन पश्चात पार्टी विधानमाथि उपहास गर्दै महाधिवेशनको क्रममा भएका समकालीन समझदारीलाई लत्याउने र सम्पूर्ण पार्टीलाई आफ्नो राजनीतिक र स्वार्थपूर्तिको औजार मात्र बनाएको आरोप लगाएका छन् ।
साथै मन्त्रिपरिषद्मा सामेल हुँदा र पार्टीका तर्फबाट राजदूत नियुक्तिमा नाम सिफारिस गर्दा एकतर्फी निर्णय लिएको र सरकारद्वारा भएको ‘नांगो भ्रष्टाचार’लाई अनुमोदन गरेको सन्देश थापाको गतिविधिले दिएको आरोप पनि लोहनीले लगाएका छन् ।
‘भविष्यमा देशमा समावेशी राष्ट्रियता, बहुलवादी प्रजातन्त्र, प्रगतिशील उदारवाद, पहिचान र संसदमा अनुमोदित राजसंस्था प्रतिबद्ध रहेर देश र जनताको हकहित्, अधिकार र स्वाभिमानको संरक्षण गर्दै देश विकासमा निरन्तर सक्रिय रहने छु, ’ पत्रमा भनिएको छ।