म यो व्लग लेखिरहँदा समाचारका विषयमा मेरा ध्यान गइरहेको छ । जिउ त्यति सञ्चो नहुँदा पनि दैनिकीले छाडेको छैन । समाचार बुलेटिन पढ्नदेखि अनलाइनमा समाचार पोस्ट गर्न भ्याइ नभ्याइ छ ।
अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा गरिएका ठूल्ठूला भाषणका समाचार बनाएर पढ्दैछु । अनलाइनमा पोस्ट पनि गर्दैछु । यति भन्दा पर्याप्त हुन्छ होला । मेरो आज छुट्टी छैन ।
मैले यति लेख्दा विदा नपाएको झ्वांक भने पटक्कै होइन । एक बर्षमा महिला दिवसका दिन पुरुषहरुलाई महिलाको गुनगान गाउन भ्याइ नभ्याइ छ ।
लाग्दैछ उनीहरुले एक बर्षभरि आजैका मिति साँचेर राखेका रहेछन् महिलाका बारेमा सकारात्मक कुरा बोल्न । हेर्दै जानु होला, भोलिदेखि कुरा मोडिन्छ । आज बोलेका कुरा भोलिदेखि विस्तारै विलाएर जानेछन् ।
फेरि आउनेछ उनीहरुका दिमाग त्यही कथित पुरुषत्वका कुरा । आज एक दिन राजनीति, पत्रकारिता, संघसंस्था सबैतिर महिलाका कुरा आइरहेका छन् । तर भोलिदेखि तिनै महिला तस्करी गर्नेहरु हावी हुन्छन् ।
तिनै राजनीतिक पार्टीका महामहिमहरु महिलालाई नेतृत्व दिन हिच्किचाउने छन् । तिनै संघ संस्थाका मान्छे महिलालाई अवसर दिनबाट गराउनेछन् । मैले आजको दिन छुट्टी नपाएकोमा गुनासो छैन ।
काम गर्ने महिलालाई कामको अवसर दिए छुट्टी जरुरी छैन । तर त्यो भन्दा जटिल कुरा महिलालाई समाजले हेर्ने दृष्टिकोण परिवर्तन हुन जरुरी छ । महिला मैत्री कानून बन्ने क्रममा छ ।
तर जबसम्म ति कानून कार्यान्वयनमा सहजता आउँदैन तबसम्म जतिनै महिलाका पक्षमा नारा लगाए पनि केही हुनेवाला छैन । राजनीतिक दलका नेताहरुले महिला दिवसका अवसरमा शुभकामना दिइरहँदा म सोध्न चाहन्छु ‘निर्णय गरिने पदमा कहाँ छ महिलाको सहभागिता?’
महिलालाई जथाभावी बेच्ने मान्छेहरु अहिले पनि कानूनको दायरामा आउन नसकेका उदाहरणहरु प्रशस्त छन् । हराएका वा बेचिएका महिलाको माइती नेपालको तथ्यांक मात्र केलाए हाम्रो समाज कहाँ छ भन्ने कुरा प्रस्ट हुन्छ ।
यति भनिरहँदा सबभन्दा पहिला महिलाको सम्मान घरबाट हुनुपर्दछ । एउटी बुहारी सासुबाट पीडित हुन्छे । खोइ त्यहाँ महिलाको सम्मान ? एउटी श्रीमति श्रीमानबाट पीडित हुन्छे । खोइ त्यहाँ महिलाको सम्मान ? एउटी भाउजु नन्दबाट पीडित हुन्छे ।
खोइ त्यहाँ महिलाको सम्मान ? महिला हिंसामा पुरुषको मात्र हिस्सा छैन । जुन दिन महिलाका लागि महिलाले नै आफ्नो व्यवहारमा परिवर्तन ल्याउँदैनन्, त्यतिन्जेल महिला हिंसा रोक्ने भन्ने कुरा नारामा मात्र सीमित हुन्छ ।
सरकार, गैर सरकारी संस्था तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले जति नै कराए पनि हुनेवाला केही छैन ।