विर्तामोड । नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय जागरण अभियान शनिबारदेखि झापाबाट सुरु हुँदैछ । झापा क्रान्तिअन्तर्गत पक्राउमा परेका पाँच जनालाई झापा र इलामको सीमाना सुखानीमा हत्या गरिएको दिन फागुन २१ गतेदेखि नै १५ दिने अभियान सञ्चालन गर्न लागिएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत दलका नेताहरुले शनिबार बिहान ८ बजे झापाको सुखानीमा सहिदको सालिकमा माल्यार्पण गरेपछि १० बजे काँकडभिट्टाबाट अभियानको शुरुआत हुनेछ । काँकरभिट्टाबाट उक्त शुरु हुने उक्त अभियानमा १० हजार मोटरसाइकल र ३ सय साना गाडी सामेल हुने एमाले झापाका अध्यक्ष चिन्तन पाठकले बताए ।
अभियानको थालनी गर्न झापा आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको मेची महाकाली अभियानमा कहीँ कतै निषेध गर्ने प्रयास भए त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
शनिवार झापाको काँकरभिट्टाबाट शुरु हुने मेची महाकाली अभियानको पूर्व सन्ध्यामा प्रेस चौतारीले झापाले शुक्रबार विर्तामोडमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा ओलीले एमालेलाई रोक्ने प्रयास गरिए कार्यकर्ता चुप लागेर नबस्ने चेतावनी दिएका हुन् ।
साक्षात्कारमा बोल्दै नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेको मेची महाकाली अभियान राष्ट्रको अभियान भएको बताए । अर्का एमाले नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमालेको अभियान कुनै पार्टी विरुद्ध नभएको बताए । एमालेले उठाएको राष्ट्रियताको कुरा जनतामा पुर्याउनका लागि एमालेले उक्त अभियान आयोजना गरेको उनले बताए ।